अर्जुनधारा । 

अर्जुनधारा नगरपालिका वडा नं. १ का वडाअध्यक्ष गजाधर खतिवडा माथि नेपाली कांग्रेसका सभापति उपेन्द्र बस्नेतको सामुन्ने उनकै घरमा काम गर्ने होमनाथ अधिकारी गरेको हातपातप्रति वडाका अन्य पार्टीले आपत्ति जनाएका छन् । 

नेकपा एमाले वडा नं. १ अध्यक्ष खड्गबहादुर तामाङ, नेकपा माओबादी वडा नं. १ अध्यक्ष विजेन्द्रकुमार एक्तेन, नेकपा(समाजबादी) पार्टीका वडा नं. १ का अध्यक्ष नविन खनाल र राप्रपाका वडा नं. १ सचिव खड्गलाल मिश्रले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै वडा अध्यक्षमाथि भएको कुटपिट र आक्रमणको घोर निन्दा र भत्सना गरेका छन् । 

विज्ञप्तीमा भनिएको छ एउटा राजनीतिक दलको सभापतिकै अगाडि सार्वजनिक पद धारण गरेको ब्यक्ति माथि कुटपिट हुनु निन्दनीय छ । उनीहरुले दोषिलाई कडा कारवाही गर्नुपर्ने माग समेत गरेका छन् । वडाध्यक्ष खतिवडाले कुटपिटमा संलग्न वडा सभापति बस्नेत र अधिकारी विरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी समेत दिएका छन् ।

माघ ११ गते नेते खोलामा आफुमाथि कुटपिट भएको वडाध्यक्ष खतिवडाले जानकारी दिएका छन् । खोलामा उत्खनन्का विषयमा विवाद हुँदा आफुमाथि नै आक्रमण भएको उनले बताएका छन् ।  नेते खोलाको लट्टेखर्क छेउमा वातावरणीय अध्ययन प्रतिवेदन अनुसार नै उत्खनन्को काम भएको वडाध्यक्ष खतिवडाले जानकारी दिए । उनले आफुमाथि भएको आक्रमणको विषयमा मेयर, उपमेयर र नेकपा एमाले अर्जुनधाराका अध्यक्ष बलदेव गोम्देनलाई जानकारी गराइसकेको बताए ।

नेपाली कांग्रेस अर्जुनधारा–१ का सभापति बस्नेतले कुटपिटको घटनामा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् । उनले वडाध्यक्षमाथि कुटपिट गर्नेलाई कारवाही गर्नुपर्ने बताए ।