विर्तामोड । 

पूर्व सांसद एवं प्रजातान्त्रिक आन्दोलनका अग्रज नेता  डिल्लीप्रसाद सिटौलाले  शक्ति जनतामा रहेको बताउदै जनताले कांग्रेसलाई कसरी हेर्छन् भन्ने अनुगमन गरेर जनता केन्द्रित कार्यक्रम लिएर गाउगाउँमा जान कार्यकर्तालाई आग्रह गरेका छन् । 

नेपाली कांग्रेस झापाको आयोजनामा केन्द्रीय एवं १ नं प्रदेश समितिका विजयी नेतृत्वको स्वागत एवं सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले स्थानीय, प्रदेश र संघीय क्षेत्रको निर्वाचन नजिकिएको अवस्थामा उम्मेदवार मनोनयन गर्नुअघि उम्मेदवारको मापदण्ड बनाउन समेत आग्रह गरे ।

कार्यक्रममा सम्मानित ब्यक्तित्वको तर्फबाट बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले चुनाबी प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउदै हिजोको कहाँ उभियो  भन्ने  कुरा छोडेर मन मिलाएर संगठनको हितमा सँगसगै हिड्न आग्रह गरेका छन्।

प्रतिपक्षी दल के.पी.ओलीमा अत्यन्तै असहिष्णु प्रवृत्ति देखिएको उदाहरण पेश गर्दै नेता शर्माले स्वस्थ आलोचना गरेर पार्टीको रुपान्तरणमा लाग्नुपर्ने बताए । अवका पुस्ताले राजनीतिमा एकपटक रास्ट्रपति, दुइपटक प्रधानमन्त्री, ३ पटक मन्त्री र चारपटक मात्रै सांसद बन्न पाउने प्रक्रियालाई नीतिगत रुपमै अवलम्बन गर्नुपर्नेमा उनको जोड दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले चुनावको परिणामले मन दुखेकाहरुलाइ) मल्हमपट्टी लगाएर गाउँ– नगर, वडाको नेतृत्व छान्न आग्रह गरे । केन्द्रीय सदस्य सरिता प्रसाइले सबै क्षेत्र, प्रदेश, गाउँ–नगर र वडामा मेरो मान्छे होइन, जित्ने र जनमानसमा लोकप्रियता बोकेका ब्यक्तिलाइ टिकट दिनुपर्नेमा जोड दिइन्।नेपाली कांग्र्रेस प्रदेश– १ का सभापति उद्वव थापाले सहिद, प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा, सर्बस्वहरणमा परेका ब्यक्ति तथा परिवार सम्मानका लागि योग्य भएको बताए । 

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरु महेन्द्राकुमारी सुब्बा, सुशिला ढकाल, राष्ट्रियसभाका उम्मेद्वार गोपालकुमार बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

झापा उपसभापति केशवकुमार पाण्डेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत शेरबहादुर भट्टराई र सञ्चालन कृष्ण हुमागाईले गरेका थिए । केन्द्रीय समितिमा निर्वाचित महामन्त्री शर्मा, केन्द्रीय सदस्यहरु बुढाथोकी, प्रसाई, सुब्बा र ढकाल, प्रदेश सभापति उद्वव थापासहित प्रदेश समितिका १३ जना सदस्यहरुलाई सम्मान गरिएको थियो ।