शिवसताक्षी । 

भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुको संवेदनशीलता माथि हेलचेक्रायाई भएको भन्दै झापाको शिवसताक्षी नगरपालिकाका राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजबादी), संघीय लिम्बुवान मञ्च नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजपार्टी शिवसताक्षी नगरले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ध्यानाकषर्ण गराएका हुन् । 

उनीहरुले आइतवार बिज्ञप्ती जारी गर्दै झोडा क्षेत्रको रुपमा विकसित हुँदै गएको समस्याहरु हालसम्म जस्तोको तस्तै रहेको भन्दै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । विज्ञप्तीमा भनिएको छ पछिल्लो समयमा आएर नगरपालिका घोषणा भएपनि यहाँका झोडाकालिन समस्याहरु अहिलेसम्म जस्ताको तस्तै रुपमा गुज्रिरहेका छन् । 

पञ्चायत कालदेखि नै प्रत्येक निर्वाचनको समयमा गरिएको प्रतिबद्धता, आश्वासन र त्यसपछिको निराशाले आजित भएका स्थानीय भूमिहिन सुकुम्बासीहरुको धैर्यताको बाँध टु्ट्न लागेको अवस्था छ । 

‘नेपालमा लोकतन्त्र स्थापना पश्चात ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने आदर्श नारा दिएर एकलौटी सरकार गठन गर्न सफल भएको कम्युनिष्ट पार्टीको सरकार आफ्नै अर्कमण्यताका कारण सत्ताच्युत हुन पुग्यो’ विज्ञप्तीमा भनिएको छ ‘हाल देशमा विभिन्न राजनीतिक गठनबन्धनबाट नयाँ सरकार निर्माण भएको हुँदा भूमिहीन सुकुम्बासी समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न बर्तमान सरकारले उपयूक्त ढंगबाट आफ्नो कार्यक्रम अघि बढाइरहेको अवस्थामा झापा जिल्लाका चार  पालिकाहरु मध्ये पहिलो चरणमा नमुनाको रुपमा शिवसताक्षी नगरपालिका छनौट भएकोमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुको संवेदनलशिलता माथि हेलचेक्र्याई गरेको घटनाले हामी सम्बन्धित सरोकारवालाहरु र यहाँका सम्पूर्ण राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।’ 

नेपाल सरकारको राष्ट्रिय भूमि आयोगको चलानी नं. १९१ मिति २०७८÷९÷२० को परिपत्र अनुसार २०७८÷९÷२४ गते शिवसताक्षी नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिृकतलाई दरबार व्याङ्केट सोल्टीमोड, काठमाण्डौमा आमन्त्रण गरिएको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लागत संकलन सम्वन्धीको कार्यविधि २०७८ को दफा ३ मापदण्ड बमोजिम सम्झौता गर्न सूचित गराइएकोमा नगरप्रमुख चन्द्रकुमार शेर्मा  र प्रमुख प्रशासकीय अधिकृत समेतले सूचनालाई बेवास्ता गरी उक्त सम्झौता गर्न नगएको बुझिएकोले उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

उनीहरुले दुरगामी असर, क्षतिप्रति सचेत गराउँदै सम्बन्धित निकायमा यथाशिघ्र सम्पर्क गरी उक्त सम्झौता गर्न र सोको आधिकारिक  रुपमा  यसै स्थानीयतहका राजनीतिक  दलहरुलाई  जानकारी गराउन नगरप्रमुख माग समेत गरेका छन् । नेपाल सरकारको नियम, नीति र कार्यक्रमहरुलाई परिपालना नगरी भूमिहीन सुकुम्बासीहरुको सम्वेदनलशिलता र भविष्य माथि खेलवाड भएको खण्डमा त्यसबाट उत्पन्न हुने परिणामप्रति नगरप्रमुख स्वयम् जवाफदेही हुनु पर्ने उनीहरुको विज्ञप्तीमा उल्लेख छ । 

विज्ञप्तीमा नेपाली कांग्रेस नगर सभापति अशोक बस्नेत, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष महेन्द्र भट्टराई, नेकपा (एकीकृत समाजवादी) नगर उपाध्यक्ष, खड्गध्वज खापुङ्ग, संघीय लिम्बुवान मञ्च नेपाल अध्यक्ष प्रकाश लिङ्गदेन, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष मणिप्रसाद खड्का र जनता समाजबादी पाटीं नगर अध्यक्ष पल्टन ताजपुरियाले हस्ताक्षर गरेका छन् ।