झापा ।
‘जागरूक समाज उज्ज्वल भविष्य’ को मुल मन्त्रसहित गैर नाफामुखी र गैर राजनीतिक उदेश्यका साथ स्थापित हिमानी कोषका गतिविधि झापामा बढ्न थालेका छन्।
पूर्व युवराज्ञी हिमानी शाहको नेतृत्वमा रहेको सेवामूलक गैर सरकारी संस्था हिमानी कोषद्वारा झापा जिल्ला, भद्रपुर नगरपालिका वडा नं. ७ साविक महेशपुरमा पर्ने सरस्वती विद्या मन्दिर प्राविका ४४ जना बालबालिका तथा भद्रपुर–७ अञ्जलीमोडको भृकुटी प्राथमिक विद्यालयका ४४ जना बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराइएको छ।
त्यस्तै भद्रपुर नगरपालिका बुधकरण चिया बगान क्षेत्रको मुसहर वस्तीमा मुसहर समुदायका ३० जना, हल्दिबारी गाउँपालिका वडा नं.२ सृजना चोकस्थित नव सृजना प्राथमिक विद्यालयका ६९ जना, कचनकवल गाउँपालिका–१ पिण्डालबारीको नवदुर्गा आधारभूत विद्यालयका ६० जना र बाह्रदर्शी गाउँपालिका वडा नं १ बोक्राझारी, भागुडुब्बास्थित अमृत माध्यमिक विद्यालयका ६७ बालबालिकालाई समेत पौष्टिक आहार वितरण गरिएको छ।
हिमानी कोष झापाको पहलमा सेवा क्यानडा ईन्टरनेशनलले समेत झापाको कचनकवल ३ पथरियाको स्वास्थ्य चौकी पथरिया र बाह्रदर्शी २ राजगढको स्वास्थ्य चौकी राजगढ दुवैलाई ४० लिटरको अक्सिजन सिलिन्डर ५ थान लगायतका विविध अस्पताल उपकरण सामाग्री प्रदान गरेको छ।
दुवै स्वास्थ्य चौकीलाई हिमानी कोष झापाको प्रयासमा सेवा क्यानडा ईन्टरनेशनलद्वारा थप १÷१ थान (युएसजी मेशिन) गर्भवती महिलाको उपचारका निम्ति अत्यावश्यक उपकरण) उपलब्ध गराउन लागेको जनाइएको छ। हिमानी कोष झापाको कोडिनेटर पुनम सिंह राजवंशीले पौष्टिक आहार वितरणको कार्यक्रम यसअघि नै गर्नु पर्ने भएता पनि कोभिड–१९ को दोश्रो लहरका कारणले केही ढिलो भएको बताइन्। उनले हिमानी कोष हाम्रो समाजमा रहेका आम सर्वसाधारणका समस्यालाई यथासम्भव समाधान गर्न तत्पर रहेको समेत जानकारी दिइन् ।