झापा । 

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को जिल्ला अधिवेशन सुरु भएको छ ।अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैपटक देशभर गरेका छन् ।

बिर्तामोडमा शुक्रवार सुरु भएको अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठकले गरेका छन् ।अधिवेशनमा जिल्लाभरबाट करिब एक हजार प्रतिनिधिको उपस्थिति रहेको छ ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज देवराज घिमिरे, स्थायी कमिटी सदस्य तथा जिल्ला इन्चार्ज अग्नी खरेल, सह इन्चार्जहरु रविन कोइराला, मिना पोखरेल उप्रेती र हिक्मत कार्कीको समेत उपस्थिति रहेको थियो । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । केन्द्रीय र जिल्ला नेतृत्वहरु बीचमा भद्र सहमतिबाटै नयाँ नेतृत्व सर्वसम्मत गर्ने भएको बुझिएको छ ।  

अबको जिल्ला कमिटी १ सय ८१ सदस्य बन्नेछ । अधिवेशनबाट निर्वाचित १ सय ५०, त्यसको १० प्रतिशत बराबर १५ जना र अन्य पार्टीबाट एमालेमा समाहित भएका नेता कार्यकर्ताका लाथि थप १० प्रतिशत बराबर १५ गरेर १ सय ८० सदस्य बनाइने भएको छ । १ सय ८० मा पनि थप १ जना गरेर १८१ सदस्य जिल्ला कमिटी बनाइने बुझिएको छ ।