विर्तामोड ।
नेपाली कांग्रेसका अग्रज नेताहरुले पार्टीको आन्तरिक निर्वाचनको गुट–उपगुट निर्वाचनसँगै सकिएको बताउँदै पार्टीलाई एकढिक्का बनाउने कार्यमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
लोकतान्त्रिक पद्धति अनुसार जो–जो जहाँ–जहाँबाट प्रतिष्पर्धामा उत्रिए पनि अब पार्टी पुनरताजगी प्रक्रिया सम्पन्न भएको बताउँदै नेताहरुले स्थानीय, प्रदेश र संघीय चुनावका लागि पार्टीलाई एकढिक्का बनाएर टोल–टोलबाट चुनावी अभियान थाल्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ प्रदेश क को कार्यालय उद्घाटन, पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रमुख अतिथि तथा अग्रज नेता डिल्लीप्रसाद सिटौला, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, सचिव कृष्ण हुमागाई लगायतले कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।
आन्तरिक प्रतिष्पर्धामा कसैको हार वा जीत नहुने उल्लेख गर्दै नेताहरुले मतदानमार्फत पहिलो र दोस्रो हुनेले सँगसँगै मिलेर पार्टी हित, लोकतान्त्रिक पद्धतिको संस्थागत विकास र जनताको समृद्धिका लागि पार्टीको अभियान सञ्चालन गर्न समेत आह्वान गरेका छन् । नेपाली कांग्रेस एकजुट भए अन्य कुनै पनि दलले पार्टीका उम्मेद्वारलाई पराजित गर्न नसक्ने नेताहरुको भनाई छ ।
कार्यक्रममा क्षेत्र नं–२ प्रदेश–१ का निवर्तमान सभापति धर्म लक्सम्बाले विदाइ मन्तब्यसँगै नवनिर्वाचित सभापति लक्ष्मीप्रसाद आचार्यलाई माइन्युट हस्तान्तरण गर्दै पदस्थापन गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि सिटौलाले सभापति आचार्यलाई सपथ गराएका थिए भने आचार्यले कार्यसमितिका पदाधिकारी÷सदस्यलाई सपथ गराएका थिए ।
प्रदेश क्षेत्रीय उपसभापति गंगा ओलीले स्वागत गरेको कार्यक्रमलाई सञ्चालन गंगाप्रसाद चुडाललेगरेका थिए । झापा क्षेत्र नं–२ प्रदेश क्षेत्र–१ को कार्यालयका लागि सामाजिक ब्यक्तित्व गोपाल मैनालीले निशुल्क रुपमा कोठा उपलब्ध गराएका थिए भने विभिन्न दाताहरुले कुर्सी प्रदान गरेका छन् ।