अर्जुनधारा ।

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नं–२ प्रदेशसभा ख द्वारा आयोजित सपथ ग्रहण एवं सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कांग्रेसका कार्यकर्ताले देश, जनता र पार्टीहितलाई ध्यानमा राखेर अघि बढ्नु पर्नेमा बुढाथोकीले जोड दिए ।

गोपनियता, जिम्मेवारी र पारदर्शितालाई सन्तुलित ढंगले अघि बढाउन आग्रह गर्दै उनले सबैलाई एकताबद्ध रुपमा संगठित गर्न सके कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गरे ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले पार्टीको आन्तरिक छनौट प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताउँदै वास्तविक प्रतिष्पर्धा त संसदीय निर्वाचनमा अन्य दलसँग हुने धारणा राखे । 

कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले पार्टीको आन्तरिक छनौट प्रक्रियाको विषयलाई लिएर एकअर्काबीचमा मनोमालिन्य र कुप्रचार नगर्न आग्रह गर्दै आज गलत भनेको साथीलाई भोली निर्वाचनमा असल उम्मेद्वार भन्नुपर्दा आइपर्ने समस्यालाई बेलैमा ध्यान दिन सुझाव दिए।

सोही कार्यक्रमका बीच नेपाली कांग्रेस क्षेत्र नं–२ प्रदेश–ख ले आफ्नो प्रदेश क्षेत्रबाट केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिमा निर्वाचितहरुलाई स्वागत सम्मान गरेको छ ।

नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित केशवकुमार बुढाथोकी र सरिता प्रसाई, प्रदेश नं–१ का सभापति उद्वव थापा, प्रदेश समिति सदस्य राजकुमार बराइली र रञ्जिता कार्की, जिल्ला सचिव कृष्ण हुमागाई र २ क्षेत्रीय सभापति खगेन्द्र मैनालीलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

प्रदेशसभा २ ख का सभापति किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, अर्जुनधारा नगर सभापति हेमप्रसाद खरेल, अर्जुनधारा ६ नं वडा सभापति नेत्र विमली लगायतले मन्तब्य राखेका थिए । 

उपसभापति पहलमान बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम सापकोटाले गरेका थिए ।