विर्तामोड ।

 प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा तथा संविधानसभा सदस्य शिवसतासी–४ निवासी जगतबहादुर ताजपुरियाको गएराति १२ बजे ७८ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।

२००१ सालमा जन्मएका ताजपुरिया २०१७ सालदेखि नेपाली कांग्रेसमा प्रवेश गर्दै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका थिए । २०१८ सालदेखि नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र आन्दोलनमा समेत सक्रिय रहेका ताजपुरिया २०२५ सालमा पक्राऊ परी १ बर्षसम्म कठोर यातनासहित जेल जीवनसमेत विताएका थिए ।  

राजकाज सम्बन्धि मुद्धामा जेल परेका उनले लामो समयसम्म तारेख धाउनु परेको जानकारहरु बताउँछन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक पक्राऊ परी जेल जीवन विताउन बाध्य ताजपुरिया प्रजातन्त्रप्रति अडीग र निष्ठावान नेता भएको नेपाली कांग्रेसका पूर्व सचिव भक्ति सिटौलाले बताए ।

‘अरु पञ्चायतमा प्रवेश गर्दा पनि उनी कहिल्यै प्रवेश गरेनन्’ नेता सिटौलाले भने ‘नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र विद्रोह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलनमा उनी सक्रिय रुपमा सहभागी भएका थिए ।’

‘राजनीतिमा हिड्दा हिड्दै आफ्नो जायजेथा सम्पूर्ण सकियो’–ताजपुरियाको राजनीतिक इतिहास सम्झदै नेपाली कांग्रेस झापाका सहसचिव कमल भण्डारीले भने ‘अहिले उहाँको परिवार ओइलानी जग्गामा बसेको छ । साँच्चै भन्ने हो काजकिरिया गर्ने खर्चसमेत अभाव छ।’ विगतमा उहाँको ४० बिगाह बढी जग्गा भएको बताइन्छ ।

नेपाली कांग्रेसको तत्कालीन ५ नं क्षेत्रको क्षेत्रीय सदस्यको जिम्मेवारी सम्हालेका उनले पदमा बसेर वा नबसी पनि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएको उनका काका एवं नेपाली कांग्रेस झापाका सदस्य सुकदेव ताजपुरियाले बताए। २०६४ सालमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक कोटामा उनी संविधानसभा सदस्य मनोनित भएका थिए।

कुनै दीर्घरोग तथा स्वास्थ्य समस्या नभएका उनको गएराति अचानक निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनकी श्रीमती फुर्की ताजपुरिया, छोराहरु धर्मप्रसाद, प्रेमप्रसाद र कृष्णप्रसाद एवं छोरी सुशिला ताजपुरिया रहेका छन् । उनको वैदिक विधिपूर्वक आइतबार नै स्थानीय बनियानी खोलाघाटमा अन्त्येष्टी गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई, सचिव नवीन विमली, सहसचिव कमल भण्डारी, ४ नं क्षेत्रीय सभापति जयनारायण शाह लगायतले पार्टीको झण्डा ओडाउँदै श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

यसैबीच नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले ताजपुरियाको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउँदै शोक समवेदना ब्यक्त गरे ।