काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित हुन नसकेपछि महाधिवेशन लम्बिएको छ ।

विधान मस्यौदा पारित नभएपछि शनिवार बिहान ११ बजेपछि पुनः बन्दसत्र सुरु हुने र विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको पार्टीले जनाएको छ । 

पार्टीको ८ औं  राष्ट्रिय महाधिवेशनको निर्वाचनले विधान पारित भएपछि मात्रै  प्राथमिकता पाउने जनाइएको छ । माओवादीले १५ सदस्यीय पदाधिकारी र २ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।

माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दाबी गरेका छैनन् । त्यसैले अध्यक्षमा प्रचण्डले नै दोहोराउने देखिएको छ ।  विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ । 

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा प्रस्तुत ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिएका छन् ।