शिवसताक्षी ।
झापाको शिवसताक्षी नगरपालिकाका छुट्टा–छुट्टै स्थानमा खानेपानी, झोलुङ्गे पुल र कालोपत्रेको शिलान्यास भएको छ । झापा क्षेत्र नं ४ (क) का प्रदेससभा सदस्य झलकसिंह दर्लामी मगरले धरमपुरमा खानेपानी र झोलुङ्गे पुलसहित पाँचगाछीको बिष्णु चौकमा कालोपत्रेको अलग–अलग कार्यक्रमकाबीच शिलान्यास गरेका छन् ।
हिजो (शुक्रबार) बिहान, शिबसताक्षी–१ धरमपुरस्थित स्वर्गीय नरबहादुर–तारादेबी थापा खानेपानीको ओभरहेड शिलान्यास गरेका हुन् । जग्गादाता स्वर्गीय नरबहादुर–तारादेबी थापाको परिवारले खानेपानी तथा सरसफाई उपभोत्ता समितिलाई पाँच कठ्ठा जमिन उपलब्ध गराएको थियो ।अध्यक्ष नारायण थापाको अध्यक्षतामा र प्रदेश सांसद झलकसिंह दर्लामी मगरको प्रमुख आतिथ्यमा शिलान्यास भएको थियो ।
शिलान्यास कार्यक्रममा शिबसताक्षी नगर उपप्रमुख भोजकुमारी नेपाल, शिबसताक्षी–७ का वडाध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) नगर अध्यक्ष नबिन इजम, जग्गादातको तर्फबाट अञ्जु थापा, सामाजिक अगुवा तथा धरमपुर खानेपानीका सल्लाहकार संयोजक चन्द्रबीर नेम्बाङ, सांसद दर्लामीका स्वकीय सचिव तथा युवा नेता दुर्गा नेम्बाङ, निर्माण कम्पनीका प्रतिनिधि सरोज मण्डल, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष महेन्द्र भट्टराई, नेत्र नेम्बाङ, ज्ञानेन्द्र तिम्सिना, बिरात किराती, चक्र माझी, पुर्ण लकान्द्री, पूर्ण नेम्बाङ, भूवन सेन्दाङ, केडी रिजाल, धिरज परियार लगायतको सहभागिता थियो ।
१ करोड ७५ लाख रुपैयाँको लागतमा धरमपुरमा खानेपानी निर्माणकार्य सम्पन्न हुने भएको हो । ४ लाख ५० हजार घन मिटर क्षमताको खानोपानीले शिबसताक्षी–१ र २ को उपभोत्ताहरुलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न सकिने अध्यक्ष नारायण थापाले बताए ।
शिलान्यास अघि कार्यक्रमका प्रमुख अतिथि सांसद दर्लामीले तोकिएको समयभित्र निर्मााण कार्य सम्पन्न हुनेमा आशाबादी रहेको बताए । उनले निर्माण कार्यमा स्थानीय उपभोक्ताहरुले खानेपानीमा गुणस्तरीयताको विषयमा निर्माण कम्पनीसँग चासो राख्नु पर्नेमा जोड दिए । उनले निर्माणकार्यमा बजेटको अभाव हुन नदिने समेत बताए ।
कार्यक्रममा स्वागत दुर्गा नेम्बाङले गरेका थिए भने सञ्चालन खानेपानी उपभोत्ताका सचिव दुर्गा चेम्जोङले गरेका थिए ।