बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) प्रदेश नं. १ समितिको सचिबमा झापाका युवा नेता सिपी कडरिया पनि दावेदार बन्ने भएका छन् । पार्टीको प्रदेश समितिको मंसिर २५ देखि २७ सम्म भएको अधिवेशनबाट निर्वाचित समितिले पदाधिकारी छान्न पुस ७ गते बैठक तय गरेकोमा कडरियाले सचिबमा दावी गरेका हुन् ।
अनेरास्ववियु क्रन्तिकारीमा आबद्ध भएर माओवादी जनयुद्धमा समाहित भएका कडरिया २०६० सालमा नेकपा माओवादीको इलाम सेक्रेटरी भएका थिए । २०६१ सालमा पार्टीको क्षेत्रीय व्युरो सदस्य भएका उनी पार्टीभित्र सामाजिक र व्यवसायीक रुपमा सफल नेताको रुपमा परिचित छन् ।
‘अहिले अध्यक्षको दावी गरेका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो र हर्कबहादुर नेम्बाङसँगै म पार्टीको क्षेत्रीय व्युरो सदस्य भएको हुँ’ कडरियाले भने ‘तर, अहिले तीन जना साथीहरुले अध्यक्षमा दावी गरेकोले सचिबको दावी गरेको हु ।’ उनले सहमतिको वातावरण बनेको अवस्थामा उपाध्यक्षमा पनि जान तयार रहेको बताए ।
निर्वाचन हुने अवस्था आएमा सचिबमै भिड्ने कडरियाले बताएका छन् । माओवादीको २ सय ७१ सदस्यीय प्रदेश समितिले ९ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।
बुधबार बसेको माओवादी प्रदेश समिति बैठकले पदाधिकारी चयनका लागि सुझाब पेश गर्न केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश समितिका सहइन्चार्ज अजम्बर काङमाङ नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी रहेको कार्यदल गठन गरेको छ ।
प्रदेश समितिको सचिबमा मोरङका गणेश उप्रेती र झापाका रेवतराज पुरी (गगन), झापाका विजय साङ्पाङ, ताप्लेजुङका बिजय बनेम, ओखलढुंगाका मोहनकुमार खड्का समेतको दावी रहेको छ ।
पार्टीको प्रदेशमा ७ गतेको बैठकसम्म सहमति नजुटे प्रक्रियाबाट त्यसको टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रको विधान अनुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटिले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिब, ३ सहसचिब र १ कोषाध्यक्षसहित ९ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।