झापा ।
नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत प्रदेश १ कार्यसमिति पदाधिकारीमा संस्थापन समूह वर्चश्वसहित विजयी भएको छ । संस्थापन पक्ष (देउवा–सिटौला गठबन्धन) का उद्धव थापाले पौडेल–कोइराला समूहका गुरुराज घिमिरेलाई दुई मतले पछि पारेका हुन् ।
आज बिहान ३ः३० बजे निर्वाचन समितिले घोषणा गरेको मतपरिणाम अनुसार थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छ्न् । सभापतिमा शुरुआतदेखि नै घिमिरेले अग्रता लिएकामा अन्तिम समयमा थापा दुई मतले जित हासिल गर्न सफल भएका हुन् ।
उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् । रायमाझीले ८९० तथा राईले ८४७ मत ल्याए । पराजित भएका गोविन्दप्रसाद ढुङ्गानाले ७६५ तथा विश्वनाथ रिजालले ६६९ मत ल्याए । महामन्त्रीमा भुपेन्द्र राई र पदमसुन्दर पालुङ्गवा विजयी भएका छन् ।
उमेश थापा र दिपनकुमार श्रेष्ठ पराजित भएका छन् । राईले ८२४, पालुङ्गवाले ८०७, थापाले ८०३ तथा श्रेष्ठले ७६४ मत ल्याए । यस्तै सहमहामन्त्री महिलातर्फ संस्थापन पक्षकी प्रमिला गच्छदार ८ सय ३७ मत ल्याएर विजयी भएकी छिन् भने इतरकी सीता कार्कीले ७ सय ९३ मत प्राप्त गरेकी छिन् ।
यस्तै सहमहामन्त्री खुल्लातर्फ सर्वाधिक मतका साथ खड्ग फागो विजयी भएका छ्न् । उनले १ हजार २६ मत प्राप्त गरेका छ्न् भने अर्का विजयी विनोदकुमार बस्नेतले ७ सय ४७ मत प्राप्त गरि विजयी बनेका छन् । पराजित भएका रोहितकुमार शाहले ६६५, वीरकाजी राईले ६४७ तथा शुभचन्द्र राईले ८४ मत ल्याएको जनाइएको छ ।