बिर्तामोड ।
हालसम्म भएका दलित आन्दोलन आस्थावादी, समन्वयबादी र उपभोक्ताबादी भएको र आन्दोलन फितलो भएको भन्दै छुट्टै स्वतन्त्र दलित आन्दोलन गर्नु पर्ने दलित अभियन्ताहरुले माग गरेका छन् ।
‘संसारका दलित उत्पिडीत एक हौं’ भन्ने मुल नाराका साथ राष्ट्रिय दलित मञ्च (एनडिएफ) ले प्रदेश नं. १ स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी अभियन्ताहरुको आगामी दलित आन्दोलका लागि विचार संकलन गरेको छ ।
झापाको बिर्तामोडमा भएको भेला तथा अन्तरक्रियामा स्वतन्त्र दलित आन्दोलनको विकल्प नभएको भन्दै मञ्चको आगामी नीति तथा संघर्षका कार्यक्रमका विषयमा चर्चा भएको मञ्चका केन्द्रीय सचिव जनक लुहागुनले जानकारी दिए ।
मञ्जको अभियानको सामाजिक उत्पिडन तथा जातीय विभेद विरुद्धको समतामूलक समाज निर्माणका लागि अन्तिम संघर्ष गर्ने तयारी स्वरुप अल्पकालीन, मध्यकालिन र दीर्घकालिन सघर्षका कार्यक्रमहरुको प्रस्तावित खाकाहरु प्रस्तुत गरिएको थियो । साथै त्यस बिषयमा साझा विचार निर्माण गर्नका लागि उपलब्ध अभियन्ताहरुबाट सुझाव तथा बिचारहरु संकलन गरिएको थियो ।
कार्यक्रममा आफ्नो विचार प्रस्तुत गर्दै अभियन्ताहरुले छुट्टै वैज्ञानिक किसिमको दलितमुखी आन्दोलनको आवश्यकता औल्याएका छन् ।
मञ्च अध्यक्षका भिमकुमार लकान्द्रीको अध्यक्षतामा भएको कार्यक्रममा विश्वकर्मा एकता समाजका अध्यक्ष गोपाल विश्वकर्मा, जातिय विभेद विरुद्धको अभियानका संयोजक सूर्य गजमेर, छिन्ताङ सुखानी जनसांस्कृतिक मञ्चका संयोजक बालकृष्ण गजमेर(इस्लाम) लगायतको आतिथ्यता रहेको थियो ।
स्वागत मञ्चका सह–संयोजक आशिष वर्देवाले गरेको कार्यक्रमको सञ्चालन सचिव लुहागुनले गरेका थिए । कार्यक्रममा प्रदेश नं. १ भरीका उल्लेखीय मात्रामा दलित अभियन्ताको सहभागीता रहेको थियो । मञ्चले संघर्षका कार्यक्रम तथा संगठन विस्तारलाई चाँडै तिव्रता दिइने मञ्चका अध्यक्ष लकान्द्रीले बताएका छन् ।
मंसिर २७ गतेबाट सुरुको आन्दोलको रुपमा सांस्कृतिक आन्दोलन स्वरुप प्रत्येक पालिकाहरुमा दलित जनजागरणका लागि सांस्कृति अभियानसँगै संगठन विस्तार तथा अन्य संघर्षका कार्यक्रमहरु गरिने सचिव लुहागुनले जानकारी दिए ।