झापा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् । लिङ्देनले राप्रपाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
राप्रपाका अध्यक्ष मध्ये राणाले नेतृत्वमा दाबी छोडेको लिङ्देन निकट राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझाले बताएका छन् । उनले सर्वसम्मत् नेतृत्व चयन होस् भनेर नै अध्यक्षको दाबेदारी छोडेर लिङ्देनलाई समर्थन गर्ने भएको बुझिएको छ ।
लावती राणा पहिले अध्यक्ष रहेको राप्रपाका प्रवक्ता पनि थिए । उनले आफ्नो समर्थन पनि लिङ्देनको पक्षमा रहेको बताए । लावतीले पार्टीलाई चलायमान र जनताले विश्वास गर्ने बनाउन, हिन्दु राष्ट्र राजासहितको प्रजातन्त्र स्थापना गर्न नयाँ पुस्तालाई साथ दिनुपर्ने बताएको मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईले जानकारी दिए । लावतीले पुरानो पुस्ताले अभिभावको भूमिका निर्वाह गर्नु पर्ने बताएको उनले बताए ।
राप्रपा अध्यक्ष कमल थापाले पनि सोमबार अध्यक्षमा उम्मेदवारी घोषणा गर्दैछन् । अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनी भने अहिलेसम्म के गर्ने भन्नेबारे खुलिसकेका छैनन् ।
राप्रपाले मंसिर १५,१६ र १७ गते महाधिवेशन गर्ने तय भएको छ । लिङ्देनले भोली (मंगलबार) संयुक्त प्यानलको उम्मेद्वारी घोषणा गर्ने मिडिया नेपाल झापा अध्यक्ष प्रसाईले जानकारी दिएका छन् ।