झापा ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले देशभरका नगर तथा गाउँपालिकाको अधिवेशन आज (शनिबार) गर्दैछ । पार्टीको मंसिर ११ गते (आज) पालिका अधिवेशन गर्ने निर्णय बमोजिम झापाका नगर तथा गाउँपालिकामा पनि प्रथम अधिवेशन हुँदैछ । पार्टीले देशभरका ७ सय ५३ वटै पालिकामा अधिवेशन गर्दैछ ।
पार्टीको केन्द्रीय निर्देशन अनुसार मंसिर ११ गते (आज) झापाका नगर तथा गाउँपालिकाको अधिवेशन गरिदै गरेको पार्टीका झापा संयोजक मणिकुमार साम्पाङ (विजय)ले बताए ।
उनका अनुसार आज झापाका १०/११ वटा नगर तथा गाउँपालिकामा अधिवेशन गर्न लागिएको छ । अन्यमा क्रमश गरिने उनले जानकारी दिए ।
सवै पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन हुने संयोजक साम्पाङले बताए । झापामा १३ हजारवढि पार्टी सदस्य रहेका छन् । पार्टीको नगर तथा गाउँपालिकामा अध्यक्ष एक, उपाध्यक्ष तीन, सचिव एक, सह–सचिव एक र कोषाध्यक्ष एकसहित नगरमा ६५ र गाउँपालिका ५५ सदस्यीय नेतृत्व चयन हुनेछ ।
पार्टीले मंसिर ४ गते वडा अधिवेशन सम्पन्न गरेको थियो भने नगर तथा गाउँपालिकाको अधिवेशन आज हुँदैछ । पार्टीको राष्ट्रिय महाधिवेशन चितवनमा पुस ११, १२ र १३ गते हुँदैछ ।