विर्तामोड ।
नेपाली कांग्रेसका अग्रज नेताहरुले अब स्थानीय तहको निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्नका लागि सक्रिय हुन नवनिर्वाचित क्षेत्रीय समिति तथा प्रदेश अधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
आन्तरिक प्रतिष्पर्धाले कार्यकर्तामा एक प्रकारका ऊर्जा देखिएको बताउँदै अग्रज नेताहरुले त्यो ऊर्जालाई इतर दलसँगको प्रतिष्पर्धामा आफ्नो पक्षमा परिणाम ल्याउन खर्चनु पर्नेमा जोड दिएका छन् ।
लोकतान्त्रिक प्रक्रियामा आन्तरिक प्रतिष्पर्धालाई हारजितको रुपमा लिनु नहुने बताउँदै नेताहरुले निर्वाचित भएकाहरुले प्रतिष्पर्धामा रहेका साथै आम कांग्रेस कार्यकर्ताको भावनालाई समेटेरसँगै लिएर हिड्ने गहन जिम्मेवारी थपिएको बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंसिर ३ गते सम्पन्न झापा क्षेत्र नं.–२ प्रदेशसभा ‘क’ बाट निर्वाचित प्रदेश पदाधिकारी तथा प्रदेश अधिवेशन प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा नवनिर्वाचित महासमिति सदस्य सुधिरकुमार शिवाकोटी, अग्रज नेता तथा पूर्व सांसद डिल्ली सिटौला लगायतका नेताले त्यस्तो आग्रह गरेका हुन् ।
मतदान अधिकृत नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नवनिर्वाचित उपसभापति मञ्जु ओलीले गरेकी थिइन् ।