बिर्तामोड ।
बिर्तामोड सानाशहरी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको यहिं मंसीर १४ गते निर्वाचन हुँदैछ । निर्वाचनका लागि दुई वटा प्यानल खडा भएका छन् । दुवै प्यानलले घरदैलो केन्द्रित चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् । खानेपानीका मतदाता अर्थात उपभोक्ताका घर–घरमा पुगेर भोट माग्ने कार्यलाई दुवै समुहले व्यापक बनाउँदै आएका छन् ।
नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र (राप्रपा) को संयुक्त प्यानलको साझा अध्यक्ष पदको उम्मेद्वारमा पारसमणि मैनाली छन् । मैनाली दुई कार्यकाल सदस्य रहेर निवर्तमान कार्यसमितिका सचिव हुन् । उनले उपभोक्ताका हरेक समस्या घरमै पुगेर समाधान गर्ने एक सफल नेतृत्वका रुपमा परिचित छन् । मैनाली नेतृत्व लोकतान्त्रिक राष्ट्रवादी प्यानलबाट उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा खगेन्द्र थापा, कोषाध्यक्षमा आनन्द गुरुङले उम्मेद्वारी दिएका छन् ।
त्यसैगरी सदस्यहरुमा विरणकुमार कोइराला, विकाश रिजाल र महिला सदस्यहरुमा कमला अग्रवाल, किरण सुब्वा र सोना श्रेष्ठले उम्मेद्वारी दिएर चुनावी प्रचारप्रसारलाई तीब्र बनाएका छन् । मैनालीले आफुले यसअघि सचिव रहँदा गरेका अधुरा कार्यहरु पूरा गर्न अध्यक्षको उम्मेद्वारी दिएको बताउँदै उपभोक्ताको साथ र सहयोग रहेकाले आफ्नो टिमको जित निश्चित रहेको दावी गरेको छन् ।
संस्थाको दिगो विकास, उपभोक्ताको हित संरक्षण र खानेपानी सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आगामी कार्यकालका लागि मैनालीको प्यानलले उम्मेद्वारी दिएको भन्दै १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेर चुनावी मैदानमा उत्रिएको छ ।
यता नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र नेपाली कांग्रेसको संयुक्त स्वतन्त्र समावेशी समुहको साझा अध्यक्ष पदका उम्मेद्वारका रुपमा देवेन्द्र सिटौलाले पनि उम्मेद्वारी दिएर चुनावी प्रचारप्रसारलाई तिव्र बनाएका छन् । उक्त प्यानलबाट उपाध्यक्षमा नन्दबहादुर तामाङ (सुवास), सचिवमा प्रदिप खरेल र कोषध्यक्षमा केशव श्रेष्ठले उम्मेद्वारी दिएका छन् । त्यस्तै सदस्यहरुमा पुनम अधिकारी (लिम्बू), निर्मला खरेल (ओडारी), गंगादेवी कन्दङवा, गजेन्द्र ओली र रामचन्द्र प्रसाईले उम्मेद्वारी दिएर चुनावी प्रचारप्रसारलाई व्यापक बनाएका छन् ।
सिटौला नेतृत्वको प्यानलले ‘स्वच्छ तथा गुणस्तरीय पानीको उपलब्धता, सर्वसुलभ पहुँच, नियमित आपूर्ति हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ १७ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । बिर्तामोड खानेपानीको एकाधिकार तोड्न उम्मेद्वारी दिएको बताउँदै अध्यक्ष पदका उम्मेद्वार सिटौलालले पनि आफ्नो समुहले जित्ने दावी गरेका छन् ।
दुवै पक्षले निर्वाचनमा जित हासिल गर्ने भन्दै चुनावी प्रचारप्रसार तिब्र पारेका छन् । बिर्तामोड खानेपानी संस्थामा १० हजार ८३३ उपभोक्ता छन् । निर्वाचन भोलि अर्थात सोमवार हुँदैछ ।
प्रतिक्रिया 0