झापा ।
नेपाल र मलेसियाबीच नोभेम्बर १८ र १९ मा हुने अनुमान गरिएको बहुप्रतीक्षित वार्ता नभएपछि उक्त मुलुकमा रोजगारीको निरन्तरतामाथिको संशय थप गहिरिँदै गएको छ ।
मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मा २५ मुख्य र २५० सहायक गरी २७५ नेपाली म्यानपावर कम्पनी दर्ता भएपछि मलेसियाको नयाँ रोजगारी प्रभावित भएको हो । हाल मलेसियाबाट नयाँ कामदारको कलिङ भिसा र स्वास्थ्य परीक्षण रोकिएको छ । मलेसियामा रोजगारी सहज गराउन नोभेम्बर १८ र १९ वा डिसेम्बर २ र ३ मा वार्ता गर्न नेपालले गरेको प्रस्तावमा मलेसियाबाट जवाफ आएको छैन । यसले मलेसियाको रोजगारीमा अनिश्चितताको संशय थप गहिरिएको हो ।
यही बेला नेपाल सरकारले मलेसियाको बायोमेट्रिक प्रणालीमा भएको अनियमिततामा पूर्वमन्त्री र मुख्यसचिवसमेतलाई गिरफ्तार गरी माथिल्लो स्तरको छानबिन र कारबाही सुरु गरेपछि मलेसियाको रोजगारी विगतकै जस्तो हुने थप आशंका बढेको छ । विगतमा करिब १५ महिना मलेसियाको रोजगारी रोकिएको थियो । नेपालले यसपटक पनि विगतमा जस्तै आफ्ना नागरिकमाथि मलेसियाका बिचौलिया र उनीहरूले निर्माण गरेको अनावश्यक प्रणालीमार्फत शोषण भइरहेको भन्दै असन्तुष्टि जनाएको छ ।
तर, मलेसियास्थित नेपाली दूतावास स्रोतले नेपाली श्रमिकको नयाँ कलिङ भिसा जारी नभएको लामो समय भइसक्दासमेत मलेसियाली पक्षले न्यूनतम चासोसमेत नदेखाएको बताएको छ । मलेसियामा जाने आप्रवासी श्रमिकमध्ये अपेक्षित रूपमा लगनशील र अनुशासित मानिने नेपाली श्रमिकको भर्ना प्रक्रिया रोकिएको लामो समयसम्म पनि मलेसियाली पक्षले चासो र सरोकार नदेखाएपछि नेपाली अधिकारीहरू समेत कसरी अघि बढ्ने भन्ने अन्योलमा रहेको बताइएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगारी खुलाउन कूटनीतिक प्रयास सुरु गरिएको बताएको छ । श्रममन्त्री रामजी यादवले प्रक्रियालाई छिटो टुंगोमा पुर्याउन नेपालका लागि मलेसियाका चाल्र्स डे एफियर्स मोहम्मद फिरदोस अजमानलाई मन्त्रालयमा बोलाएर छलफल गरेको पनि लामै समय बितिसकेको छ । मलेसियामा विशेषगरी आइटी, इलेक्ट्रोनिक्स, कन्स्ट्रक्सन, प्लान्टेसन र सुरक्षागार्डमा नेपालीका लागि रोजगारीका अवसर पर्याप्त रहेको मानिन्छ । गत वर्ष ३ लाख ८५ हजार ७८३ जना वैदेशिक रोजगारीमा गएको मलेसियामा म्यानपावर कम्पनीमार्फत मात्रै १ लाख ३२ हजार ६४६ जना गएका थिए । प्रतिशतका हिसाबले यो संख्या वैदेशिक रोजगारीमा संस्थागत रूपमा गएकामध्ये ४३ प्रतिशतभन्दा बढी हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकले मलेसियाबाट मासिक ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिने गरेको देखाएको छ । नेपालमा दर्ता रहेकामध्ये ६० देखि ६५ प्रतिशत म्यानपावर व्यवसायीले मलेसियामा श्रमिक पठाउने गरेका छन् । उनीहरूले समस्या गहिरिँदै गएको अवस्थामा सरकारले समाधान पहिल्याउन थप आलटाल गर्न नहुने बताएका छन् । कतिपय व्यवसायी भने मलेसियाले नेपालको विकल्पसमेत खोज्न सक्ने भएकाले नेपाल पनि मलेसियाको विकल्पमा जानुपर्ने बताउँछन् ।
प्रतिक्रिया 0