झापा । 

गृह मन्त्रालयले गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गठन गरेको वैदेशिक रोजगारीका नाममा हुने ठगी, मानव तस्करी तथा श्रम शोषण नियन्त्रण गर्ने विशेष संयुक्त कार्यदलले कार्य प्रारम्भ गरेको छ । गृहमन्त्री गुरुङ युएई भ्रमणबाट फर्किएपछि ४ मंसिरमा उक्त विशेष कार्यदल गठन भएको हो । कार्यदललाई परम्परागत मानव बेचबिखन नियन्त्रणभन्दा वैदेशिक रोजगारी तथा विदेश पठाउने प्रक्रियामा हुने ठगी र संगठित अपराधमाथि प्रत्यक्ष निगरानी तथा कारबाही गर्ने म्यान्डेट रहेको बताइएको छ ।

कार्यदलमा गृह मन्त्रालयसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, नेपाल प्रहरी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरू रहेका छन् । कार्यदललाई शैक्षिक परामर्श वा अन्य संस्थाको आवरणमा हुने अवैध गतिविधिको अनुसन्धान, अपराधमा संलग्न व्यक्ति तथा गिरोहको पहिचान, प्रमाण संकलन र अभियोजनको जिम्मेवारी रहेको बताइएको छ ।

गृहमन्त्री गुरुङलाई युएईमा रहेका प्रवासी नेपालीहरूले आधा दर्जनभन्दा बढी समस्या समाधानका लागि ध्यानाकर्षण गराएका थिए । नेपालीहरूले युएईमा घरेलु कामदारका रूपमा काम गरिरहेका कतिपय नेपाली महिला श्रमिकले धेरै वर्षदेखि नेपाल फर्कन नपाएको, करारअनुसारको सेवा सुविधा नपाएको र हुन्डीका कारण रेमिट्यान्स प्रभावित भएको भन्दै यसमा कडा कदम चाल्न आग्रह गरेका थिए ।