बिर्तामोड।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले वीरता जेसीजले संकलन गरेको दुई लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्रदान गरिएको छ ।
वीरता जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संकलित राहत रकम जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको उपस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको हो।
उक्त राहत संकलन अभियान जनसम्पर्क अधिकारी तथा अभियान संयोजक जेसी अजय चौधरीको संयोजकत्वमा सञ्चालन गरिएको थियो। राहत रकम हस्तान्तरण कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापा, जेसीआई सिनेटर घनश्याम चौधरी, औषधी व्यवसायी संघ झापाका अध्यक्ष तथा जेसीआई सिनेटर जीवन खड्का, वीरता जेसीजका पूर्व अध्यक्ष जेसी विकास बस्नेतलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विपद्को कठिन घडीमा पीडित नागरिकहरूको सहयोगार्थ सक्रिय भई राहत संकलन गर्ने वीरता जेसीज, सम्पूर्ण दाताहरू तथा अभियानमा संलग्न सबैप्रति नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरे । उनले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विपत प्रभावित नागरिकहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठले प्राकृतिक विपत्तिको समयमा पीडितहरूको साथमा उभिनु नै सामाजिक संस्थाहरूको दायित्व भएको उल्लेख गर्दै अभियानमा सहयोग पुर्याउनु हुने सम्पूर्ण पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् ।
‘ मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने भावनाका साथ सञ्चालन गरिएको उक्त अभियानबाट संकलित रकम विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास लिइएको छ। वीरता जेसीजले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। यसैक्रममा वीरता जेसीजले प्रमुख जिल्ला अधिकारी पोखरेललाई स्वागतसमेत गरेको थियो ।


















