झापा ।
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार आएको विनाशकारी बाढीमा परेका अझै ५ हजार सम्पर्कविहीन रहेका छन् । बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ताहरुको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन् । अहिलेसम्म एक हजार ३३१ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क छ ।
फेलापरेका शवमध्ये रसुवामा १५६, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २१९ तथा चितवनमा ३६० रहेका छन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुने मध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त एक हजार ९६७ जना, नुवाकोटबाट दुई हजार ३४० जना, ५८९ जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी १०० जना रहेका छन् ।
सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट अहिलेसम्म १३ हजार १०१ जनाको उद्धार गरिएको छ । ९८ वटा शवको सनाखत भई आफन्तलाई बुझाइएको छ । बाढी प्रभावितका लागि काठमाण्डौ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ४१ होल्डिङ सेन्टरमा तीन हजार ९८२ जनाले सुरक्षित आश्रय लिइरहेका छन् ।
विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत तथा व्यवस्थापनको काम अघि बढाएको पनि प्राधिकरणले जनाएको छ । बाढी आएको आज १२ औँ दिन भैसकेको छ ।


















