बिर्तामोड ।
अग्रज पत्रकार दिपिन राई र डाक्टर सोफिया थुलुङ राई सम्मानीत भएका छन् । झापाको बिर्तामोडमा भएको किरात राई यायोक्खा झापाको ९ औं जिल्ला अधिवेशनका क्रममा संस्थालाई पत्रकारिताका माध्यमबाट योगदान गरेकोे भन्दै पत्रकार राई र किरात समुदायबाट डाक्टर जस्तो गरिमामय पदमा पुग्न सफल भएको भन्दै डाक्टर सोफियालाई सम्मान गरिएको हो ।
यसैगरी झापा जिल्लाका बिभिन्न सरकारी कार्यालयमा अधिकृत तहमा कार्यरत आठ जनालाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको छ । प्रशंसापत्रबाट सम्मानीत हुनेहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई, अर्जुनधारा नगरका पशु शाखा प्रमुख पदमलाल राई, कनकाई नगरकी योजना शाखा प्रमुख मनिता राई, मेची यातायात व्यवस्था कार्यालयकी लेखा अधिकृत तीर्थमाया राई, कृषि विकास वैंक गौरादह शाखा प्रमुख विकास राई छन् । त्यस्तै पूर्वी नाका काँकरभिट्टा भन्सार कार्यालयका प्रमुख महङकल राई, खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय बिर्तामोड प्रमुख राजबहादुर राई र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख निशान राई प्रशंसापत्रद्धारा सम्ममानीत भएका हुन् ।
सम्मानीत हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खाका केन्द्रिय अध्यक्ष जीवन हताचो राई, झापा अध्यक्ष गणेशबहादुर राईले सम्मान तथा प्रशंसापत्र प्रदान गरेका थिए ।
गठित सबै समितिले उभौली उधौली पर्व हर्षो उल्लासका साथ मनाउदै सबैलाई भाइचारा सम्बन्ध कायम गर्दै आएको अध्यक्ष गणेशले बताए । किरात राई यायोक्खा झापाका अध्यक्ष गणेशबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लीलाबहादुर राईले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष जीवन हताचो राई, कोशी प्रदेश अध्यक्ष पारस राई, राजनीतिक दलका तर्फबाट मणिकुमार साम्पाङ राई (बिजय), सल्लाहकारहरुको तर्फबाट दिलिप राई, आदिवासी जनजाती महासंघका तर्फबाट पूर्व अध्यक्ष प्रेम घिसिङ, किरात याक्थुम चुम्लुङका अध्यक्ष सेसेहाङ फियाकलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन यायोक्खा झापाका सचिव गौरीमान राईले गरेका थिए ।
राई जातिहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको जर्गेना गर्न र नव पुस्ताहरुलाई समेट्दै आएको किरात राई यायोक्खा झापाको ९ औं जिल्ला अधिवेशन आजदेखि बिर्तामोडमा शुरु भएको हो ।
२६ भाषी राईहरु मध्ये प्रायः सबै भाषी राई जातिहरु झापा जिल्लामा बसोवास गर्दै आएका र नेपालको जनगणना २०७८ को तथ्याङ्क अनुसार झापामा करिव ६० हजार राईहरुको जनसख्या रहेको यायोक्खा झापाका सचिव गौरीमान राईले जानकारी दिए । झापाको १५ वटै पालिका अन्र्तगत विभिन्न ३७ स्थानमा किरात राई यायोक्खाको प्रारम्भिक समिति तथा संयुक्तवडा समितिहरु निर्माण गरिएको बताइएको छ । आज र भोलि (शनिवार र आइतबार ) बिर्तामोडमा हुने अधिवेशनले झापा जिल्लाको नयाँ नेतृत्वसमेत चयन गर्ने बताइएको छ ।
प्रतिक्रिया 0