झापा । 

रसुवाको भोटेकोशीमा गत भदौं १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।  

उद्धार गरिएकामध्ये तीन हजारभन्दा धेरै व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ । उद्धार गरिएका व्यक्तिलाई सुरक्षित ठाउँमा राखेर आवश्यक स्वास्थ्योपचार, खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने काम भइरहेको छ ।सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालन गरिएको प्राधिकरणको भनाइ छ ।

यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासीपूर्व र नवलपरासीपश्चिममा गरी एक हजार २५९ शव फेला परेका छन् । भोटेकोशी बाढीबाट प्रभावितमध्ये अहिलेसम्म पाँच हजार ३८४ जनाको उपचार गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।

भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी, उद्धार, उपचार तथा राहतको कामलाई थप तीव्र पारिएको सरकारले जनाएको छ । ।