भद्रपुर ।

रसुवाकोे भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि लायन्स इन्टरनेशनलले नेपाल सरकारलाई आर्थिक सहयोग गरेको छ । लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ अन्तर्गतका विभिन्न डिस्ट्रिक्ट तथा क्लबहरूले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

लायन्स इन्टरनेशनल फाउन्डेसनले तत्काल राहत व्यवस्थापन तथा पुनःस्थापनाका लागि २ लाख अमेरिकी डलर बराबरको मेजर क्याटास्ट्रोफी ग्रान्ट उपलब्ध गराएको छ ।

बाढी आएको दोस्रो दिनदेखि लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ ले १५ वटा डिस्ट्रिक्टबाट सहयोग संकलन अभियान सञ्चालन गरेको थियो । अभियानअन्तर्गत १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको जनाइएको छ । यसै क्रममा डिस्ट्रिक्ट ३२५ सी बाट आह्वान गरिएको सहयोग अभियानमा छ दिनभित्र १६ लाख ११ हजार रुपैयाँ संकलन गरी आज (बिहीवार) प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरिएको छ ।

बाढी प्रभावित क्षेत्र तथा आसपासका स्थानमा लायन्स क्लबहरूले नियमित रूपमा राहत सामग्री वितरण गर्नुका साथै होल्डिङ सेन्टरमा विस्थापित परिवारलाई आवास, खाद्यान्नलगायतका सेवा उपलब्ध गराउँदै आएका छन् । डिस्ट्रिक्ट ३२५ सीले आज जिल्ला प्रशासन कार्यालयका निमित्त जिल्ला प्रमुख  अधिकारी भूमिश्वर पोखरेलमार्फत उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो । 

निमित्त सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले विपद्को समयमा सामाजिक संघ–संस्थाबाट प्राप्त सहयोगले प्रभावितको उद्धार तथा राहत व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ का गभर्नर लीला चिमरियाले विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले लायन्सका विभिन्न क्लब तथा सदस्यहरूबाट सहयोग संकलन र वितरणको काम भइरहेको बताए । उनले राहतसँगै प्रभावित परिवारको पुनःस्थापनामा समेत लायन्सले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

कार्यक्रमममा फष्ट भाइस डिस्ट्रीक गर्भनर रमेश खत्रीले पनि आफ्नो भनाई रराखेका थिए । कार्यक्रमको सञ्चालन डिस्ट्रीक ३२५ क्याविनेट सेक्रेटरी रेखा गुरुङलेगरेकी थिइन् । कार्यक्रममा लायन्सका बिभिन्न तह र तप्काका प्रमुख तथ प्रतिनिधिहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।