झापा । 

 प्रतिनिधि सभाको आज (बुधबार) को बैठकले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

सभामुखद्वारा प्रस्तुत विशेष प्रस्तावमा गत भदौ १० गते बुधबार आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लाका तटीय क्षेत्रमा भएको ठुलो जनधनको क्षतिप्रति संसद्ले शोक व्यक्त गरेको हो।

प्रस्तावमा उल्लेख भएअनुसार बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाट लगायतका क्षेत्रमा निकै ठुलो विध्वंस मच्चाएको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुसार बाढीमा १ हजार ११४ जनाको शव फेला परेको छ, ३ हजार ९१६ जना सम्पर्कविहीन छन् र २९२ जना घाइते भएका छन्।
राष्ट्रिय सभाले पनि मंगलबार विशेष प्रस्ताव पारित गर्दै उद्धार, राहत, पुनस्र्थापना, घाइतेको निःशुल्क उपचार र शव व्यवस्थापनलाई प्राथमिकता दिन सरकारलाई सिफारिफ गरेको छ।

यस क्रममा धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता भएका छन् भने ठुलो संख्यामा मानिसहरूको मृत्यु भएको छ। प्रतिनिधि सभाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। त्यसैगरी, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढीका कारण घरबारविहीन भएका नागरिकहरूको तत्काल उचित व्यवस्थापन र पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।