झापा । 

रसुवामा गत भाद्र १० गते इतिहासमै थाहा नभएको मात्रामा अचानक आएको बाढीले भएको बजार, जनधन तथा विद्युत आयोजना र सडक जस्ता भौतिक विकासका संरचनाहरूमा भएको क्षतिबाट देशले दुखद् त्रासदी बेहोर्नु परेको छ। 

त्यस दुर्दान्त घटनामा सयौँ नेपाली र कतिपय विदेशीले समेत आफ्नो प्राण गुमाएका छन् । नेपाल सरकारले पीडितहरूको उद्धार र स्वास्थ्यसेवा, मृतकहरूको पहिचान र शव व्यवस्थापन तथा नस्ट भएका र भत्केका संरचनाको पुनर्निर्माण कामका लागि सबैसित सहयोगको अपेक्षा गरेको छ । 

यसै क्रममा कोशी प्रदेश, झापाको बिर्तामोडस्थित होटल किङ्सबेरी,धुलाबारीस्थित क्यासिनो भेगास, भैरहवास्थित क्यासिनो टाइगर प्यालेस,  बिर्तामोडस्थित  क्यासिनो सेभेन हर्सेसका तर्फबाट अध्यक्ष रवि शर्मा धितालले एक करोड, एघार लाख, एघार हजार, एकसय एघार रुपैयाँ आज (मंगलबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । 

यसै विषयमा पत्रकारहरूसित कुरा गर्दै अध्यक्ष धितालले यस्तो वीभत्स विपद्का भुमरीमा परी दिवङ्गत भएका सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण र घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले सबै उद्योगपति तथा अन्य सबै सर्वसाधारणले समेतले मानवीयताका दृष्टिले आआफ्नो कर्तव्य ठानी नेपाल सरकारका आह्वानमा जो सकेको सहयोग गर्नुपर्ने बताएका छन् ।