बिर्तामोड ।
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको छैटौं बार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न भएको छ ।
स्थानीय स्तरमा साना–साना पुँजी एकीकृत गरेर सामुहिक रुपमा ठूला–ठूला कार्य र योजनामा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनीले आज (शनिवार) बिर्तामोडमा साधारणसभा सम्पन्न गरेको हो ।
कम्पनीका अध्यक्ष लालबहादुर साँवा लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीको अधिकृत पुँजी र जारी पुँजी बृद्धि गर्ने, कम्पनीको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्ने, आइपिओ सम्बन्धी सम्पूर्ण कामकारवाही गर्न कम्पनी सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, सञ्चालक समितिका सदस्यहरुको बैठक भत्तालगायतका बिषयमा छलफलसमेत भएको छ ।
यसैगरी साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष लिम्बुबाट बार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, कम्पनीको लेखापरिक्षकद्धारा आर्थिक बर्ष २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदनसहितको बित्तिय विवरणहरु अनुमोदन, कम्पनीको सहायक कम्पनीसहितको आर्थिक बर्ष २०८२/०८३ को लेखा परीक्षण गरिएको एकीकृत वित्तीय विवरण अनुमोदन, २०८३/०८४ का लागि लेखा परीक्षकको नियुक्ती र पारिश्रमिक तोक्ने, सञ्चालक समितिले आव २०८२/०८३ मा गरेका निर्णयहरु छलफल गरी अनुमोदन र कम्पनी सञ्चालकको नियुक्ती तथा अनुमोदनलगायतका बिषयमा छलफल गरी अनुमोदन गरिएको छ ।
कम्पनी समन्वयकर्ता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले स्वागत गरेको कार्यक्रममा कम्पनीका वित्तीय सल्लाहकार सरोज श्रेष्ठले वित्तीय विवरण प्रस्तुत गरेका थिए भने कम्पनीका इन्भेष्टमेन्ट को–अर्डिनेटर रामचन्द्र उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कम्पनीका सञ्चालकहरु सुवास भट्टराई, अग्निप्रसाद दुलाल, यशोदा चापागाँई, चन्द्रप्रसाद संग्रौला, शिव ढुङ्गेललगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन कम्पनीका सचिव भीम लिवाङले गरेका थिए ।
कम्पनीले यस आर्थिक बर्ष २०८२/०८३ मा गोरक्ष हाइड्रोपावरमा ५ करोड ३० लाख, लागुपाते हाइड्रोपावरमा २ करोड २० लाख, कावेली इनर्जीमा ५ करोड, किसान नेट प्रालिमा ५० लाख, लुका भिलेजमा ४ करोड गरी जम्मा १७ करोड रुपैयाँ आयोजनाहरुमा लगानी गरेको अध्यक्ष लिम्बुको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार २०८३ असार मसान्तसम्ममा १० करोड ९५ लाख ७३ हजार १२० रुपैयाँ कम्पनीको बैंक खातामा मौज्यात रहेको छ । यसैगरी कम्पनीले २४ लाख आम्दानी गरेकोमा खर्च कटाएर १८ लाख ३७ हजार रुपैंया बचत गरेको जनाएको छ ।
प्रतिक्रिया 0