हल्दिबारी ।

हिंसा, घृणा र अमानवीयताविरुद्ध शान्ति, सम्मान, न्याय र मानवताको पक्षमा ऐक्यबद्धता जनाउँदै झापाको हल्दिबारीमा दीप प्रज्वलन गरिएको छ। “हिंसाको अँध्यारोविरुद्ध मानवताको दीप बालौँ” भन्ने मूल सन्देशसहित चिल्ड्रेन गार्डेन पूर्व विद्यार्थी समाज, हल्दिबारी–३ को आयोजनामा आइतबार हल्दिबारी–४ स्थित वडाबारी चोकको वडा कार्यालय परिसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो।

समाजमा बढ्दै गएका जघन्य तथा अमानवीय घटनाप्रति मौनता होइन, सामूहिक खबरदारी र मानवीय संवेदनाको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक लक्ष्मीदेवी मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मनोज सुवेदी, आधारभूत स्वास्थ्य चौकी हल्दिबारी–३ का प्रमुख मिलन उप्रेती, जलथल प्रहरी चौकीका प्रमुख छबिहाङ शेर्मालगायत स्थानीय अगुवा, बालबालिका, युवा–युवती तथा पूर्व विद्यार्थी समाजका पदाधिकारी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै चिल्ड्रेन गार्डेन पूर्व विद्यार्थी समाजका अध्यक्ष अभिषेक खतिवडाले जघन्य अपराधलाई कुनै पनि बहानामा ढाकछोप गर्ने वा घटनाप्रति मौन बस्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। उनले अमानवीय घटनाविरुद्ध राज्यका निकायसँगै नागरिक समाज पनि जिम्मेवार र एकताबद्ध भएर उभिनुपर्नेमा जोड दिए।

“देशका विभिन्न जिल्लामा भइरहेका अमानवीय घटनाले हामी सबैलाई गम्भीर बनाएको छ। पीडितको पीडाप्रति ऐक्यबद्धता जनाउनु र हिंसाविरुद्ध आवाज उठाउनु प्रत्येक नागरिकको दायित्व हो,” अध्यक्ष खतिवडाले भने।

उनले हल्दिबारीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका पाथीभरा, साकेला थान, दूधकन्या र स्वर्गद्वारी मन्दिरजस्ता पवित्र स्थलहरूको भूमिबाट बालिएको यो दीपले हल्दिबारी मात्र नभई देशका ७७ वटै जिल्लामा शान्ति, न्याय, सम्मान र मानवताको उज्यालो फैलियोस् भन्ने कामना गरेको बताए।

कार्यक्रमकी प्रमुख अतिथि उपाध्यक्ष मैनालीले जघन्य अपराधमा संलग्न व्यक्ति जोसुकै भए पनि कानुनभन्दा माथि हुन नसक्ने बताउँदै दोषीलाई निष्पक्ष छानबिनमार्फत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा व्यक्त गरिन्। उनले हिंसा र अमानवीयताविरुद्ध सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेकोमा पूर्व विद्यार्थी समाजलाई धन्यवाद दिँदै यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरिन्।

प्रमुख अतिथि मैनालीले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेपछि सहभागी सबैले हातमा दीप बोकेर “हिंसा होइन—शान्ति, घृणा होइन—मानवता, अन्याय होइन—न्याय” भन्ने भावनासहित देशमा शान्ति र सुरक्षित वातावरणको कामना गरे।

पूर्व विद्यार्थी समाजका अध्यक्ष अभिषेक खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिव टिकाराम ढकालले गरेका थिए।

सामाजिक हित, मानवीय संवेदना, पूर्व विद्यार्थीबीचको एकता तथा समुदायमा सकारात्मक चेतना अभिवृद्धि गर्ने उद्देश्यले गठन भएको चिल्ड्रेन गार्डेन पूर्व विद्यार्थी समाजले आगामी दिनमा पनि सामाजिक तथा रचनात्मक अभियानलाई निरन्तरता दिने जनाएको छ।