झापा ।
बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ। गरिमा चौधरीको हत्याको विरोधमा नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शनिवार काठमाडौँमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले ‘बलात्कारीलाई फाँसी दे’ जस्ता नाराबाजी गर्दै कडा कानुनी कारबाहीको माग गरेका छन्। प्रदर्शनमा सहभागीहरूले ‘छोरी जन्मनु अपराध हो?’ तथा ‘जुन देशले आफ्ना बच्चाहरूलाई सुरक्षा दिन सक्दैन, त्यो देश विकासमा होइन लाजमा डुब्नुपर्छ’ लेखिएका प्लेकार्डहरू बोकेका थिए।
जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। उनको शव मङ्गलवार एउटा घरको खाली कोठामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको अनुसन्धानका क्रममा आरोपितहरूलाई तत्कालै पक्राउ गरिएको र अभिभावकको जाहेरीका आधारमा थप चार जनालाई नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन्।


















