• अभिषेक खतिवडा

हल्दीबारी ।

झापा हल्दीबारी–३, जलथल क्षेत्रमा जङ्गली हात्तीको आतंक दिनप्रतिदिन बढ्दै गएको छ। गएराति करिब ९ बजेदेखि चार वटा जङ्गली हात्ती बस्ती प्रवेश गरेपछि स्थानीयवासी रातभर त्रासमा जाग्राम बस्न बाध्य भएका छन्।

बुधबार बेलुका बस्ती प्रवेश गरेका हात्तीले स्थानीयका घर, कम्पाउन्ड वाल, फलामे गेटलगायतका भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै खेतबारीमा लगाइएको तथा भण्डारण गरिएको अन्नबालीसमेत नष्ट गरेका छन्।

हात्तीले श्री पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम ढुङ्गेल, शोरेन मेचे र गिरिजा महत्तोको घरमा क्षति पुर्‍याएको छ। त्यस्तै, सुनिल मेचेको घरतर्फ प्रवेश गर्ने फलामे गेट तथा कम्पाउन्ड वाल भत्काएको स्थानीयले बताएका छन्। हात्तीले श्री पञ्चायत माविको मुख्य फलामे गेटसमेत भत्काएको छ।

यसै क्रममा हल्दिबारी–३ की वडा सदस्य विष्णुमाया तिम्सिना ढुङ्गेलको घर आसपास पनि हात्तीले लामो समयसम्म वितण्डा मच्चाएको थियो। हात्ती निकै बेर घरवरिपरि घुमिरहे पनि उनको घरमा भने कुनै भौतिक क्षति नभएको जनाइएको छ।

हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीयले घर, परिवार र सम्पत्तिको सुरक्षाका लागि रातभर जाग्राम बस्नुपरेको थियो। हात्ती कुन बेला कुन घरतर्फ पस्ने हो भन्ने अनिश्चितताले स्थानीयमा रातभर भय र चिन्ताको वातावरण सिर्जना गरेको थियो।

जङ्गलसँग जोडिएको जलथल क्षेत्रमा पछिल्लो समय जङ्गली हात्तीको आवागमन नियमितजस्तै बनेको छ। हात्तीले खेतबारीमा लगाएको अन्नबाली नष्ट गर्नुका साथै घर, गोठ, कम्पाउन्ड तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्‍याउने क्रम बढ्दै गएको स्थानीयको भनाइ छ।

मानव–हात्ती द्वन्द्वका कारण यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि धनमालको क्षति मात्रै होइन, ज्यानकै जोखिमसमेत मोल्दै आएका छन्। विशेषगरी रातको समयमा हात्ती बस्ती पस्ने क्रम बढेपछि स्थानीयको दैनिक जीवन प्रभावित हुनुका साथै सुरक्षित रूपमा रात बिताउनसमेत मुस्किल हुन थालेको छ।

स्थानीयले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी सुरक्षा तथा नियन्त्रणका उपाय अवलम्बन गर्न माग गरेका छन्। हात्तीको सुरक्षित व्यवस्थापनसँगै दीर्घकालीन समाधानका लागि ठोस योजना नबनाए आगामी दिनमा मानवीय तथा भौतिक क्षति अझ बढ्न सक्ने उनीहरूको चिन्ता छ।

जलथलमा बढ्दै गएको हात्ती आतंकले अब एउटा गम्भीर प्रश्न खडा गरेको छ—मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्दै स्थानीयको ज्यान, घर र जीविकोपार्जनको सुरक्षा कसरी सुनिश्चित गर्ने ? स्थानीयका लागि यो अब केवल हात्ती बस्ती पस्ने समस्या रहेनः यो उनीहरूको सुरक्षित जीवन जिउने अधिकारसँग जोडिएको गम्भीर चुनौती बनेको छ।