झापा ।
इलामको रोङ गाउँपालिका ६ स्थित सलकपुरमा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय सलकपुर सनसिटी क्लबले प्रतियोगिता गर्न लागेको हो ।
आउँदो मंसिर २१ गतेदेखि प्रथम सलकपुर सन सिटी भेट्रान फुटबल प्रतियोगिता हुने भएको हो । जसमा पूर्वका चर्चित भेट्रान फुटबल क्लबसँगै मलेसियाको एन पेनाङ भेट्रान फुटबल क्लबले पनि सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष भुवन तामाङले जानकारी दिए ।
उनका अनुसार धरान, झापाको दमक, बिर्तामोड, पाँचथरको बौद्ध भेट्रान, झिलझिले, इलामको फेमे गुरु भेट्रान क्लबसँगै एन पेनाङ एपसीले सहभागिता जनाउने भएको छ । यसैगरी आयोजकका दुई टोली र भारत सिलिगुडीको भेट्रान्स टोलीले सहभागिता जनाउने छ ।
सलकपुरस्थित मोतिराम माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेता टोलीले एक लाख ११ हजारसहित ट्रफी पाउने छ । यसैगरी दोस्रो हुने टोलीले ५५ हजार पाँच सय र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।
यसैगरी, विधागततर्फ बेस्ट गोलकिपर, डिफेन्डर, फरवार्ड, हाइस्कोरर र बेस्ट कोचलाई तीन हजार र प्लेयर अफ दी टुर्नामेन्ट बन्ने खेलाडीले ५ हजार ५ सयसहित ट्रफी पाउने छ । प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार १ सयसहित ट्रफीको व्यवस्था गरिएको क्लबका सचिव युवराज राईले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न ७ लाख २१ हजार खर्च हुने अनुमान गरिएको छ । पूर्व खेलाडी स्थानीय मानवीर स्याङबोलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष तामाङले जानकारी दिएका छन् ।
प्रतिक्रिया 0