बिर्तामोड ।
फोटो पत्रकार सामाजिक अभियन्ता शरद जोशीले ५,५८७ मिटर उचाइको मार्दी हिमाल सफलतापूर्वक आरोहण गरेका छन् । झापाको बिर्तामोड निवासी जोशीले कार्तिक १० गते मंगलबार दिउँसो ३ः५० बजे सो शिखर चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन् ।
आफ्नो तेस्रो हिमाल आरोहण पूरा गरेपछि खुसी साट्दै जोशीले आमाबुबाको आशीर्वाद, परिवार, आफन्त र शुभेच्छुकहरूको अथाह विश्वास र मायाका कारण नै यो सफलता हासिल गर्न सम्भव भएको बताए।
यसपटकको हिमाल आरोहणलाई जोशीले भर्खरै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडित बनेका नागरिकहरूको स्मरण र उच्च सम्मानका साथ उनीहरूप्रति समर्पण गरेका छन्। सामाजिक कार्यमा सधैँ अग्रपङ्क्तिमा रहँदै आएका उनले राष्ट्रिय तथा प्राकृतिक विपद्का बेला पीडितहरूको उद्धार र राहत कार्यमा समेत सक्रिय भूमिका खेल्दै आएका छन् ।
हिमालय आरोहणमा विशेष रुचि राख्ने जोशीको यो तेस्रो सफल हिमाल आरोहण हो। यसअघि उनले ६,००० मिटरभन्दा बढी उचाइको ‘मिरा पीक’ (Mera Peak) तथा ७,१२६ मिटर उचाइको ‘हिमलुङ हिमाल’ (Himlung Himal) सफलतापूर्वक आरोहण गरिसेका छन् । निरन्तरको हिमालयन एक्सपेडिसनमार्फत उनले साहसिक पर्वतारोहण क्षेत्रमा आफ्नो बलियो पहिचान बनाएका छन् ।
पर्वतारोहणबाहेक जोशी सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा उत्तिकै सक्रिय छन् । उनी पेसाले फोटो पत्रकार हुनुका साथै बिर्तामोडमा विद्यालय सञ्चालन गरी शिक्षा क्षेत्रमा समेत योगदान पुऱ्याउँदै आएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतासमेत हुन् ।
जोशीको यो साहसिक उपलब्धिले झापा जिल्ला मात्र नभई समग्र देशकै पर्यटन, पर्वतारोहण र सामाजिक क्षेत्रको शिर उचो बनाएको भन्दै यतिबेला उनलाई शुभेच्छुक तथा सहकर्मीहरूबाट बधाई तथा शुभकामना दिने क्रम जारी छ।
प्रतिक्रिया 0