विराटनगर  । 

अभिषेक गिरी बिहीबार साँझ विराटनगर विमानस्थलबाट पक्राउ परेका छन्। काठमाडौँबाट बुद्ध एयरको उडानमार्फत साँझ ७ः५ बजे विराटनगर आइपुगेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा यसअघि नै अदालतबाट पक्राउ अनुमति लिइसकिएको थियो। सोही पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए।

गिरी यसअघि ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को अनुसन्धानमा परेका थिए। निर्माण व्यवसायी सुभाष श्रेष्ठले आफूबाट रकम असुलेको भन्दै दिएको किटानी जाहेरीका आधारमा सीआईबीले गत असार २३ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ लगेको थियो।

सीआईबीको अनुसन्धानले गिरीले २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको निष्कर्ष निकाल्दै सोही रकम बिगो मागदाबी गरी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो। त्यसपछि सरकारी वकिल कार्यालयले साउन १४ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उनले तत्काल धरौटी रकम नबुझाएपछि डिल्लीबजार कारागार चलान गरिएको थियो। पछि धरौटी बुझाएर रिहा भएका गिरी विराटनगर आइपुग्नेबित्तिकै पुनः पक्राउ परेका हुन्।

सीआईबीको अनुसन्धानअनुसार विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय गिरीले आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत श्रेष्ठले पाएको ठेक्का सम्पन्न गरिदिने भन्दै रकम लिएर ठगी गरेको आरोप छ ।

यता मोरङ प्रहरीले अब गिरीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाउने जनाएको छ। यसअघि पनि मोरङ प्रहरीले असार १३ गते मोरङ कारागारका कैदीबन्दीबाट असुली गरेको आरोपमा गिरीलाई उनकै घरबाट पक्राउ गरेको थियो। उक्त मुद्दामा हाजिर जमानीमा छुटेपछि सीआईबीले ठगी प्रकरणमा नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।