बिर्तामोड ।
झापामा क्रियाशील १० वटा पत्रकारसम्बद्ध संघ–संगठनले विभिन्न अपराधमा संलग्न भई हाल फरार रहेका झापा हल्दिबारी गाउँपालिका–१ निवासी नितेश ओली (नवराज)लाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमार्फत संगठनहरूले केही समययता सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जरमार्फत नेपाल पत्रकार महासंघ झापा शाखाका पदाधिकारी तथा सक्रिय पत्रकारहरूलाई लक्षित गर्दै चरित्रहत्या गर्ने उद्देश्यले भ्रामक सामग्री प्रसारण गर्नुका साथै ज्यान लिनेसम्मका धम्की दिने कार्य भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
विज्ञप्तिमा पत्रकारलाई बदनाम गर्ने उद्देश्यले भइरहेका यस्ता गतिविधि प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरिएको छ। पत्रकारिता पेशामा नरहेका नितेश ओलीले पत्रकारिताको आवरण प्रयोग गर्दै विभिन्न व्यक्तिलाई हैरानी दिएको विषयमा सम्बन्धित निकायमा उजुरी परेपछि उनलाई सचेत गराइएको भए पनि त्यसपछि उनले पत्रकारविरुद्ध तथ्यहीन, भ्रामक तथा कपोलकल्पित सामग्री सार्वजनिक गर्दै मानमर्दन गर्ने कार्यलाई निरन्तरता दिएको विज्ञप्तिमा उल्लेख छ।
पत्रकार महासंघ झापा शाखाले साइबर अपराधसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय झापामा संस्थागत रूपमा जाहेरी दर्ता गराएपछि जिल्ला अदालतबाट ओलीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको भए पनि उनी हालसम्म पक्राउ नपरेको जनाइएको छ। यसैबीच सामाजिक सञ्जालमार्फत सक्रिय पत्रकारहरूलाई ज्यान मार्ने धम्कीसमेत दिइरहेकाले पत्रकारहरूको सुरक्षामा थप चुनौती सिर्जना भएको संगठनहरूको भनाइ छ।
विज्ञप्तिअनुसार नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला प्रहरी कार्यालय झापा र प्रमुख जिल्ला अधिकारीको कार्यालयलाई पटक–पटक ध्यानाकर्षण गराए पनि फरार अभियुक्तलाई पक्राउ गर्न नसक्नुले प्रहरी प्रशासनको कार्यशैली र क्षमतामाथि गम्भीर प्रश्न उठेको छ। अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन नसक्दा प्रहरी प्रशासनको भूमिकाप्रति नै शंका उत्पन्न भएको पनि संगठनहरूको निष्कर्ष छ।
पत्रकारसम्बद्ध संघ–संगठनहरूले फरार अभियुक्तलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक तथा अवाञ्छित गतिविधि रोक्न र दण्डहीनताको अन्त्य गर्न प्रशासनसँग जोडदार माग गरेका छन्।
संयुक्त विज्ञप्तिमा नेपाल प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराई, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्का, नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज) झापाका अध्यक्ष अर्जुन राजवंशी, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, खेलकुद पत्रकार संघ झापा– फोटो पत्रकार संघ झापाका अध्यक्ष इन्द्रजीत मुखिया, पर्यटन पत्रकार संघ झापाका अध्यक्ष विनोद पाण्डे,स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल,नेपाल चलचित्र पत्रकार संघ झापाका अध्यक्ष एकराज प्रधान र राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष नेत्रबिक्रम विमलीको हस्ताक्षर रहेको छ।
विज्ञप्तिमा पत्रकारमाथि हुने धम्की, चरित्रहत्या र साइबर दुव्र्यवहारका घटनामा राज्यका निकायले प्रभावकारी हस्तक्षेप गर्दै प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा समेत जोड दिइएको छ।


















