क्यासिनो उद्योगलाई प्रायः पुरुष प्रधान र चुनौतीपूर्ण मानिन्छ । भेगास क्रियसनको महाप्रबन्धकका रूपमा यो क्षेत्रमा प्रवेश गर्दाका शुरुवाती चुनौतीहरू र सफलताका अनुभवहरू कस्ता रहे ?

 पुरूष प्रधान हुनुका सीमाहरू यस शताब्दीमा संसारभरि नै बिस्तारै भत्किँदै गएका छन् । किनकि पहिले पनि सभ्यताको शुरुवातदेखि नै परिवार लगायत समाजको व्यवस्थापन महिलाले गरिआएकै हुन् । यसकारण महिलाले कुनै पनि जिम्मेवारी सम्हाल्नुलाई आजको युगमा, र यो समयमा आएर पनि नौलो विषय मान्नु मलाई उचित लाग्दैन । म आफैँ पनि दैनिक प्रशासन सञ्चालन र व्यवस्थापकीय हिसाबले विगत २५ वर्षका अनुभव साथ यहाँ आइपुगेकी छु । जहाँसम्म चुनौतीका प्रश्न छन् ती सबैतिर रहन्छन्, तिनलाई चिरेर सफलतातिर निरन्तर लागिरहनु प्रत्येक व्यवसायीको धर्म हो । मेरा लागि शुरुवाती चुनौतीहरू व्यावसायका लागि त खासै थिएनन्, तर हावापानीदेखि स्थानीय समुदायसितको सहकार्यका लागि केही अनुभव लिनु र त्यसमै आफूलाई अनुकूल बनाउनु आवश्यक थियो । सायद त्यही चुनैती पार गरेकाले होला अहिले म तपाईसँग अन्तरवार्तामा उपस्थित छु ।

यस बीचमा सफलताका अनुभवहरू पनि छन् । हाम्रा व्यवस्थापनमा होटल मेची क्राउनको कम्पाउन्डमा विदेशी लक्षित भेगास क्यासिनोलाई पहिलेको अवस्थाभन्दा बढी ग्राहकमैत्री बनाइएको छ । बिर्तामोडमा होटल किङ्सबेरी स्थापना गरिएको छ । होटल सबैका लागि हो भने र यसमा थप एक छुट्टै विदेशी नागरिक लक्षित सेभेन हर्सेस क्यासिनो पनि सञ्चालित छ । भारतका सीमावर्ती मात्र नभएर सबै सहरका इच्छुकहरू पनि आकर्षित भएका छन् । यसबाट यो संस्था र यसले नेपालको सरकारलाई बुझाउने करका माध्यमबाट देशलाई टेवा पुगेको छ ।

तपाईं नेतृत्वको संस्थामा प्रत्यक्ष अप्रत्यक्ष कति मानिसले रोजगारी पाएका छन् ?

 मैले नेतृत्व गरेको संस्थाले पाँच सयभन्दा बढी व्यक्तिहरूले प्रत्यक्ष र झन्डै दुई सय ५० जनाले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।यति ठूलो टोलीलाई सम्हाल्दा, उत्प्रेरित गर्दा र संस्थागत अनुशासन कायम राख्दा अपनाउनुहुने मूल मन्त्र के हो ?

मूल विषय कामप्रतिको लगाव र इमानदारी हो । कतिपय मानिसहरू ‘मन त थिएन, अरू केही उपाय नभएर यही काममा बसिरहेको छु, पाए अन्त जान्छु’ भन्छन् । राम्रो अवसर हुँदा अन्यत्र जानु खराब होइन, तर त्यसका पर्खाइमा हाल गरिरहेको कामप्रति उदासीनता आउनु अनुपयुक्त हो । मैले विगतका स्थानमा पनि आफ्नो पूरा पोटेन्सियल लगाएर काम गरेँ । म हरेक व्यक्तिमा कुनै न कुनै सम्भावना छ, र केही प्रेरणा वा कामप्रतिको लगनले उनीहरू माथि पुग्न सक्छन् भन्ने भविष्य देख्छु । अनुशासनका हकमा भने कतिपय अवस्थामा कम्प्रोमाइज गर्न सकिन्न, त्यसमा म थोरै कडारूपमा प्रस्तुत हुन्छु, तर त्यसको अन्तिम लक्ष्य आफ्नो संस्थाप्रतिको कर्तव्य, इमानदारी र समर्पण हो ।

काठमाडौं जस्तो राजधानी छाडेर झापालाई व्यावसायिक कर्मथलो बनाउने निर्णय पछाडिको सोच के थियो ? मोफसलमा रहेर ठूला व्यावसायिक संस्था सञ्चालन गर्दाका सम्भावना र कठिनाइहरू के–कस्ता छन् ?

 प्रश्नको पहिलो भागबारे शुरुमा छलफल गरौँ– हामी जुन हस्पिटालिटी म्यानेज्मेन्टका व्यवसायमा छौँ, त्यसमा लगभग शत प्रतिशत नै भारतीय पर्यटकहरूको संलग्नता छ । काठमाडौँमा बरू बढी प्रतिस्पर्धा होला । यहाँ हाम्रो लगानीमा सञ्चालित धुलाबारीको भेगास क्यासिनो र अर्को संस्था बिर्तामोडको होटल किङ्सबेरीको प्रतिस्पर्धामा आउने अरू छैनन् । यो बाटो भएर नेपाल पस्ने इच्छुक विदेशी पर्यटकका लागि भेगास र बिर्तामोडको होटल किङ्सबेरीकोर सेभेन हर्सेजसेवामा उपस्थित छन् । होटलको अनन्द र सामान्य सेवा त सबैका लागि खुला भयो नै । सम्भावना र प्रतिस्पर्धाका दृष्टिले भने यस क्षेत्रमा हाम्रो सेवाको कुनै प्रतिस्पर्धा नै छैन भने पनि हुन्छ । सेवाका गुणस्तर हेरी शुल्क चाहिँ हामीले अन्यत्रका उस्तै सेवाका तुलनामा कम्ती नै राखेका छौँ ।

कहीँ पनि सम्भावना देखेर नै लगानीकर्ताले लगानी गर्ने हो । यी दुवैका लगानीकर्ता एकमात्र श्री रवि शर्मा धिताल हुनुहुन्छ । उहाँसँग पनि लगभग साढे तीन दशक नेपालको काठमाडौँ र भारतको गोवामा काम गरेको अनुभव छ । झापामा आई काम गरेर आफ्नै देशका नागरिकलाई रोजगारी र आफ्नै देशको सरकारलाई बलियो बनाउने सोच उहाँकै हो । नेपाल पर्यटकहरूको देश भएको र यहाँ आउने पर्यटक मध्ये धेरैका विविध चाहना हुन्छन् । क्यासिनो प्रवेश नेपालीहरूलाई कानूनले नै प्रतिबन्धित गरेको छ । विदेशीहरूका लागि भने यो सेवा प्रदान गर्न सकिने भएकाले यहाँलाई थाहै छ, नेपालमा राजधानीदेखि लिएर अन्यत्र स्थानहरूमा राम्रै मात्रामा क्यासिनो व्यवसाय उपस्थित छ । कारोबारमा सरकारबाट तोकिएका प्रतिशत यसले राजश्वका रूपमा बर्सेनि बुझाउँछ, त्यो राशि सरकारबाट देशमा हुने सार्वजनिक खर्चका लागि योगदान पुग्छ ।

तर, यसमा केही कठिनाइहरूलाई सरल बनाउन सकेमा व्यापारको मात्रा पनि बढ्नेछ । सरकारका कोषमा दाखिला हुने राशि पनि अझ बढन सक्छ । यसका उदाहरणमा– नेपाल तर्फको सीमा बेलुकी अबेलासम्म पनि वा २४सैं घण्टा खुल्यो भने इच्छुकहरू दिनभरिका आफ्ना काम सकेर बेलुकी अबेलै भए पनि उताबाट नेपालतिरको यात्रा गर्न सक्छन् । यो पर्यटनका लागि राम्रो पाटो हो । उनीहरू यहाँ पस्न नपाउँदा हाम्रो देशमा आएपछि गर्ने खर्च सो व्यक्तिले उतै सीमापारि नै गरेर आउँछ । त्यस्तै भारतीय मुद्रा लिएर आउ–जाउ गर्नमा समेत रकमको सीमा छ । यो अलि खुकुलो हुँदा हाम्रा देशमा भित्रिने भारतीय मुद्राको मात्रा बढछ, देशलाई अन्ततोगत्वा लाभ हुन्छ । यी यस्ता केही सामान्य व्यवस्थामा सरकारले सहजीकरण गरिदिए केही कठिनाइ घटने थिए ।

नेपालमा कर्पोरेट वा क्यासिनो क्षेत्रको माथिल्लो तहमा महिलाको उपस्थिति अझै कम छ । क्यासिनो उद्योगको शीर्ष स्थानमा बसेर काम गरिरहँदा पूर्वाग्रह वा दृष्टिकोणगत चुनौतीहरूको सामना गर्नुभयो कि भएन ?

 विभिन्न सेक्टरमा पूर्वाग्रह वा दृष्टिकोणगत चुनौती हुन्छन् नै । हामी बाँचेको समाज नै द्वैधतापूर्ण छ । अधुनिकीकरण पनि खोज्ने र महिलाले काम गरे भने झट्ट स्वीकार नगर्ने पनि चलन छ । तर मैले त्यो अवस्था पहिले नै चिरीसकेकी हुनाले यहाँ आउँदा म त्यो स्थितिको सामना गर्न मनोवैज्ञानिक रूपले तयार थिएँ । तर, तपाइँको सन्देह कुन अर्थमा सही छ भने नेपाली समाजको सांस्कृतिक र मनोवैज्ञानिक अवस्थाले महिलालाई निर्णायिकी जिम्मेवारीमा पूर्ण स्वीकार गरिन्न÷गर्दैन । आफूले प्रमाणित गर्न सक्नुपर्छ । केही दृष्टिकोणगत चुनौती पनि छन्, सम्पर्क गरिएका कार्यालय र बाहिरी क्षेत्रका व्यक्तिले महिलासित खुलेर निर्णायिकी कुरा नगर्नु वा यहाँको टिममा ‘अर्को सर को हुनुहुन्छ’ भनेर बारम्बार सोध्नु आदि यसमा पर्छन् । हाम्रो भेगास क्यासिनो र होटल किङ्सबेरीमा भने लगभग आधाआधीका हाराहारीमा कामदार महिलाको प्रतिशत छ । यसलाई अझ बढाएर लैजाने सोचमा हामी छौँ, जसबाट सानो मात्रामा भए पनि मुलुकको महिला सशक्तीकरणको अभियानलाई पनि सघाउ पुगोस् भन्ने हाम्रो अभिप्राय हो ।

पुरुषवादी मानिने वा जटिल क्षेत्रमा आफ्नै पहिचान बनाउन चाहने महिलाहरूलाई तपाईंको आफ्नै अनुभवका आधारमा के सल्लाह दिनुहुन्छ ?

ड अहिले समाज धेरै परिवर्तन भइसकेको छ । तपाईँले चित्रण गर्न खोज्नुभए जस्तो वर्तमानको समाज पूरै पुरुषवादी पनि छैन । हरेक क्षेत्रमा महिला र पुरुषको समान सहभागिता छ । म आफू नै यस अवस्थासम्म आउन हाम्रै या मेरै विगतको सङ्घर्षले पनि काम गरेको होला । अहिले घर फेरिएको छ, समुदाय फेरिएको छ, देश र पूरा परिस्थिति फेरिएको छ । हाम्रै नेतृत्वकर्ता श्री रवि शर्मा धितालले हामीलाई धेरै हदसम्म स्वतन्त्रतापूर्वक निर्णय गर्न दिनुहुन्छ । यसो भन्दैमा महिला आफूले सीप हासिल नगरी, क्षमतालाई नबढाई खाली ‘म महिला’ मात्र भनेका आधारमा सुविधा खोज्नु चाहिँ उचित होइन भन्ने सल्लाह म यो र आउँदा पुस्ताका महिलालाई दिन्छु ।

तपाईं परिचित साहित्यकार तथा लेखक । एकातिर कडा नियम, हिसाब–किताब र व्यवस्थापनको क्यासिनो संसार, अर्कोतिर संवेदनशील र भावुक साहित्य । यी दुई बिल्कुलै फरक दुनियाँबीच कसरी सन्तुलन मिलाउनुहुन्छ ?

समाजमा हरेक व्यक्ति विभिन्न भूमिकाहरूमा बाँडिएको हुन्छ । सबै भूमिकामा अब्बल हुन सकियो भने मात्र स्थापित भइन्छ । म मेरा सन्तानका लागि असल र सफल आमा हुँ भने मेरा मातापिताका लागि पनि असल छोरी हुन सक्नुपर्छ । त्यस्तै म केही कवि हुँला, केही आमव्यक्ति होउँला, केही संस्थाको प्रशासक होउँला र साथसाथै देशको एक जिम्मेवार नागरिक पनि हुँला । यी सबै खाले भूमिकामा सन्तुलित तरिकाले प्रस्तुत हुन सकियो भने मात्र व्यक्तित्व दिगो हुन्छ । केही राम्रा लेखक छन्, समाजमा नाम होला, तर उनीहरू परिवारका कामै नलाग्ने र असहयोगी सदस्य भएका पनि मैले देखेकी छु ।

तर, आफूभित्रको फरक–फरक व्यक्तित्वलाई सन्तुलनमा राख्नु नै त जीवन हो । त्यसका लागि सबै भूमिकालाई समानरूपमा न्याय गर्नैपर्छ । कोही कार्यालयमा हाकिम होलान्, तर त्यसो भन्दैमा घरमा पुगेपछि घरको जिम्मेवारी बिर्सन मिल्दैन, चाहे पुरुष होऊन् कि महिला । उसैगरी कुनै संस्थाको प्रशासक हुँदैमा आफूभित्रको कविलाई मार्न पनि हुँदैन । कवि द्रष्टा हो, यसले देखेको स्थिति अरूले नदेखेका पनि हुन सक्छन्, समाजलाई त्यो सबै कलात्मक तरिकाले बताउनु एक कविको दायित्व हो । सबैले आ–आफू संलग्न सबै पक्षको सन्तुलन मिलाउनुपर्छ भन्नेमा मेरो विश्वास छ ।

तपाईंको व्यावसायिक जीवन, दैनिक भेटिने मानिसहरू र भोगाइहरूले तपाईंको साहित्य र लेखनमा कतिको स्थान पाउँछन् ?

 मेरो सृजना मेरो अनुभवको प्रतिविम्ब हो, मेरा भोगाइहरूको तस्वीर हो । इमानदार भएर भन्छु, म सँग ठोक्किने समाजको हरेक पात्र नै मेरो लेखनको ऊर्जा हो, विषयवस्तुको स्रोत हो । उनीहरूलाई थाहा नदिई मैले ती पात्रलाई मेरा कविता, कथा तथा लघुकथामा घुसाइसकेको हुन्छु । मेरा आजसम्मका सृजना सबै नै कि मैले भोगेका सजीव पात्र छन्, कि मानवीकरण गरिएका प्रकृति तथा अन्यबाट लिइएका पात्र छन् । यसरी मेरो सृजना नै मेरा भोगाइको पुलिन्दा हो ।

तपाईंको पहिलो कृति छाउगोठकी आमा कस्तो कृति हो ?

 छाउगोठकी आमा नेपालको एक यथार्थपरक तस्वीर हो । यसमा छाउगोठकी आमाका रूपमा संस्कृति र धर्मको घुर्मैलो पाटो छ भने आफू बेचिएर घर चलाइरहेको चेलीहरूको दुर्दान्त कथा पनि छ । मानवका पारिवारिक, सामाजिक तथा सबै खाले अन्तर्वैयक्तिक सम्बन्धका विषय पनि छन्, तारा, जुन, नदी जस्ता पात्रलाई मानवीकरण गरेर प्रेमीका रूपमा र अन्य भूमिकामा उभ्याइएको पनि छ । यसमा भएका पात्र तपाईँ हाम्रा घर–घरमा छन् । यो त वास्तवमा समालोचकहरूले हेरिदिनुपर्ने हो, यसभन्दा बढी म आफैँ के भनूँ ?

तपाईंको अर्को कृति कस्तो हुनेछ ?

 इमानदारी साथ भन्नुपर्दा त्यो कृति मेरो देश र समाज जस्तै हुनेछ । किनकि मेरा सृजनाका विषयवस्तु यही समाजबाट लिइने छन् । म आफैँ समाजको अभिन्न अङ्ग भएकाले म यहाँ जे देख्छु, सृजनामा त्यही उतार्छु । तर, वास्तविक अर्थमा सोध्नुहुन्छ भने– मलाई अहिल्यै थाहा छैन । एउटा सानो झिल्कोले मानिसको लेखन तथा सामाजिक दृष्टिकोणमा नै परिवर्तन गराइदिन सक्छ । के कुराले मलाई भोलि प्रभाव पार्ला र म कस्तो विषयमा कलम चलाउँला भन्ने विषय पनि रहस्यमै त छ । विचारकै गर्भमा आउन बाँकी त्यस कृतिका बारेमा भो अहिले कुरा नगरौँ ।

यति व्यस्त तालिकाका बीच आफ्नो शारीरिक र मानसिक स्वास्थ्यका लागि कसरी समय व्यवस्थापन गर्नुहुन्छ ?

इच्छाशक्ति र एक अनुशासित तथा नियमित अभ्यासमा बसे खासै गाह«ो छ जस्तो लाग्दैन । कसैले अरूको नक्कल पनि गर्न आवश्यक छैन, आफूसँग जे उपलब्ध छन्, तिनै भएका साधनस्रोतको समयोचित परिचालन गरेर आफूलाई चुस्त–दुरुस्त राख्दा राम्रै छ नि ! हैन र ?

तपाईंको अनुसन्धानको विषयबारे केही बताइदिनु होस् न ।

ड म विगतमा १४ वर्ष एक सरकारी परियोजनामा काम गरेँ, जसमा प्रशासन लगायत स्वास्थ्यसँग सम्बन्धित दैनिक अभिलेखको जिम्मा मेरो थियो । त्यस अभिलेखबाट तथ्याङ्क निकालेर स्वास्थ्यको कुनै पक्षसित सम्बन्धित कारकतत्व तथा तिनका परिणामका बारेमा वरिष्ठ डाक्टर र विशेषज्ञले विश्लेषण गर्थे । समयको अन्तरालले यस्तो अवस्थामा ल्यायो कि त्यस परियोजनाको समाप्तिपछि कालान्तरमा विश्वविद्यालयका एक प्राध्यापक तथा तथ्याङ्क विश्लेषक र म मिलेर एक अनुसन्धान तथा तालिमको संस्था नै खोल्यौँ, त्यो पनि १४ वर्ष नै सञ्चालन गरियो ।

त्यस दौरानमा चेलीबेटी बेचबिखन, साना किसानलाई ऋण लिन र त्यसको चर्को ब्याज तिर्न बाध्य पारेका अवस्था, जन्मना साथ झन्डै नमरेका शिशुको अवस्था, मृगौलाका बेचबिखन, एकीकृत विद्यालयमा अपाङ्गता भएका छात्राहरू माथि हुने चरम दुव्र्यवहार, राजनीतिमा महिला सहभागिताका लागि दक्षिण एसियामा भुटान र भारतभन्दा पनि माथि रहेको नेपालको अवस्था, समावेशी शिक्षामा लगानी छ भन्ने नेपालको सरकार र त्यस्तो समावेशिताको अनुभव गर्न नपाएका विद्यार्थी र अभिभावकको गुनासो र स्थानीय तहमा सेवाग्राही जनसंख्यालाई कसरी सम्बोधन गर्ने आदि विषयका अनुसन्धानमा म संलग्न भएँ । तिनले एकातिर अनुसन्धानको ढाँचा, प्रश्नावली निर्माण, र तथ्याङ्क विश्लेषणको अवस्थालाई जान्न मलाई मदद गरे भने अर्कातिर अनुसन्धान नै नगरी नीति बनाउन खोज्दा देशको अवस्थासँग मेल नखाने कार्यक्रमले कसरी देशलाई दुर्दशातिर लैजान्छन् भन्ने पनि मैले जानेँ ।

अहिलेसम्मको भ्रमण र अध्ययनले तपाईंको जीवन हेर्ने दृष्टिकोणलाई कसरी बद्लेको छ ?

म यसको उत्तरलाई माथिको प्रश्नसँगै जोड्न चाहन्छु । अनुसन्धानका सिलसिलामा नेपालका विकट तथा कम विकसितदेखि उच्च शहरी अवस्थाको तुलनात्मक अध्ययन पनि मैले गर्न पाएँ । यिनै सिलसिलामा नेपाल बाहेक भुटान, भारतका विभिन्न प्रान्त, खासगरी दक्षिण पनि हेर्ने अवसर मिल्यो । युरोपका नर्वे, नेदरल्यान्ड, बेल्जियम, फ्रान्स आदिका भ्रमणमा पनि म सरिक भएँ । विकसित देशमा अनुशासन छ, त्यो पनि नागरिकका तहमा । हामी सरकारमा बस्नेका मात्र अनुशासन र कर्तव्यका कुरा गर्छौं, तर नागरिकका तहका अनुशासनले मात्र देश बन्ने रहेछ । अनि मलाई लाग्यो, शुरुवात अरूबाट होइन, आफूबाट पो गरिनुपर्ने रहेछ । यो भएन, त्यो भएन भनेर अरूलाई भन्नुभन्दा परिवर्तन आफूबाट गर्दा देश बन्ने हो कि !

एउटा ठूलो व्यावसायिक संस्थाको नेतृत्व गरिरहँदा र आफैं एक साहित्यकार हुनुको नाताले समाजप्रति आफ्नो वा संस्थाको योगदानलाई कसरी अगाडि बढाउनुभएको छ ?

 सायद म अलि बढी साना–मसिना कुराहरूमा पनि यस्तै हुनुपर्छ भन्ने अडान राख्छु । त्यो मेरो एक सर्जकका आँखाले देखेको सत्यलाई आत्मसात् गर्ने बानी होला । एक सानो उदाहरण लिऊँ, हाम्रोमा सयौँ कर्मचारीले संस्थामै खाना–खाजा खानुहुन्छ । प्लेटभरि खाना लिने र एक दुई चम्चा मात्र खाएर अरू खाना फालेको देखेर नराम्रो लाग्यो । त्यहाँ फालिएका खाना देखेर मलाई पीडा भयो । पहाडी र दुर्गम स्थानमा त्यति पनि खान नपाउने कति होलान् ! अनि खाना फाल्न हुन्न भन्ने सन्देश छापेर भित्तामा टाँसेपछि र व्यक्तिगत काउन्सिलिङ् गरेपछि अहिले त्यो लगभग निर्मूल भएको छ । र, अर्को विषय मितव्ययी तरिकाले संस्था चलाउने र अधिकतम् लाभ कसरी लिने लक्ष्य बनाउनु मेरो उद्देश्य हुन्छ । त्यसका साथै भौतिक रूपमा समेत सबै सदस्य र कर्मचारी आकर्षक र प्रभावकारी व्यक्तित्व साथ प्रस्तुत हुनपर्छ भन्ने मेरो धारणा छ । त्यसबाट संस्थागत उन्नति र बढोत्तरी (ग्रोथ)हुन्छ भन्नेमा म विश्वास राख्छु ।

यी सबैको पछिल्तिर पनि म राष्ट्रिय स्वार्थ नै गाँसिएको देख्छु । जति संस्था र यसका कर्मचारी आकर्षक, अनुशासित र दक्ष हुन्छन् उति नै हाम्रो जस्तो व्यवसायमा धेरैभन्दा धेरै विदेशी पाहुना आउँछन् र हामी उनीहरूबाट उठ्ने सेवाशुल्कका कारण धेरैभन्दा धेरै कर सरकारलाई बुझाउन सक्षम हुनेछौँ । साथै कर्मचारीका संख्यामा पनि बढोत्तरी भयो भने देशभित्रै धेरैलाई रोजगारी दिन सकिने छ, यसबाट विदेश पलायन हुनेहरूको संख्या घट्ने पनि छ । त्यसैले, जति धेरै निजी क्षेत्रले उन्नति गर्ला उति नै राष्ट्रिय पुँजीको पनि निर्माण हुनेछ । अन्ततोगत्वा व्यक्तिका स्तरमा आम्दानीका रूपमा गएको धन नै फेरि लगानी बनेर देशका उद्योगधन्दा फस्टाउने छ । यो चक्र चालू रहनका लागि सरकारको प्रोत्साहन सबै क्षेत्रलाई हुन आवश्यक छ ।

तपाईं जीवनमा के विषयलाई उपलब्धि ठान्नुहुन्छ ?

 एक वाक्यमा भन्नुपर्दा, आफूले के हासिल गरियोभन्दा पनि समाज र देशका लागि के गर्न सकियो भन्ने विषयलाई म उपलब्धि ठान्दछु ।

जानु धिताललाई भविष्यमा कुन रूपमा बढी चिन्न सकिने छ– एक सफल कर्पोरेट लिडर, सशक्त साहित्यकार या अरू नै कुनै भूमिकामा ?

 के एक व्यक्ति एकै भूमिकामा मात्र सीमित हुनुपर्छ भन्ने छ ? म त चाहन्छु माथि भनिएका भन्दा पनि अझै बहुआयामिक भूमिकामा यहाँहरूले जानु धिताललाई देख्न पाउनुहोस् । आउनोस् हामी सबै मिलेर प्रयत्न पनि गरौँ, प्रार्थना पनि गरौँ ।