बिर्तामोड ।  

झापामा जापानिज इन्सेफलाइटिस (मस्तिस्क ज्वरो) (जेइ) रोग विरुद्धको खोप अभियान असोज ५ गतेदेखि सञ्चालन गरिने भएको छ ।  झापाका १५ वटै स्थानीय तह अन्तरगतका १३१ वडाका ३० बर्ष भन्दा माथि उमेर समुहका मानिसलाई असोज ५ देखि १५ गतेसम्म जेइ रोग विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

स्वास्थ्य कार्यालय झापाले बिभिन्न चरणमा सारोकारवालाहरुसँग छलफल, अन्तरक्रिया तथा अभिमूखिकरण गरेको र आज (बिर्तामोड) मा अभियानको सन्देश प्रवाह र परिचालनका लागि सञ्चारकर्मीहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गरेर खोप अभियान तयारी र सञ्चालनका बारेमा जानकारी दिएको हो । 

जेई रोगको जोखिम बढेको बताउँदैे स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले हालसम्म झापामा १३ जना संक्रमित भेटिएको र ती मध्ये ७ जनाको मृत्यु भइसकेको जानकारी समेत दिए । उनका अनुसार खोप अभियानका लागि आवश्यक प्रत्येक पालिकामा जनशक्ति तयार गरिएको र असोज ५ देखि १५ गतेसम्म खोप सञ्चालन गरिनेछ । त्यस्तै तालिका अनुसार १५ वटै स्थानीय तहमा असोज २ गतेदेखि जेई खोप आपूर्ति गरिने बताइएको छ । 

मेचीनगरमा ५ देखि १४ गतेसम्म, बुद्धशान्तिमा असोज ९ देखि १५ गतेसम्म, अर्जुनधारामा असोज ९ देखि १५ गते, कनकाई र शिवसताक्षीमा असोज ५ देखि १३ गतेसम्म, कमलमा असोज ५ देखि १४ गतेसम्म, दमकमा असोज ५ देखि ११ गतेसम्म, गौरादहमा असोज ५ देखि १० गतेसम्म जेई खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

यसैगरी गौरीगञ्जमा असोज ५ देखि १३ गतेसम्म,  झापामा असोज ५ देखि १० गतेसम्म, बाह्रदशीमा असोज ८ देखि १५ गतेसम्म, बिर्तामोडमा असोज ९ देखि १४ गतेसम्म, हल्दीबारीमा असोज ५ देखि १४ गतेसम्म, भद्रपुरमा असोज ९ देखि १४ गतेसम्म, कचनकवलमा असोज ९ देखि १४ गतेसम्म गरेर जिल्लामा असोज ५ गतेदेखि १५ गतेसम्म जेई रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने बताइएको छ ।

यस खोप अभियानका लागि ५ लाख ७० हजार डोज खोप प्राप्त भएको बताइएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले अभियानमा झापाली सञ्चारकर्मीहरुले साथ र सहयोग रहने बताउँदै अभियानको सफलताको शुभकाममना दिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत विश्वनाथ श्रेष्ठले गरेका थिए ।