- अभिषेक खतिवडा
हल्दीबारी ।
लागूऔषधबाट टाढा रहने प्रतिबद्धता जनाउँदै झापाको हल्दीबारीका विद्यार्थीले सामूहिक संकल्प गरेका छन्। लागूऔषध दुव्र्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने असरबारे जानकारी पाएपछि हल्दिबारी माध्यमिक विद्यालयका विद्यार्थीले लागूऔषध प्रयोग नगर्ने र यसको जोखिमबाट आफू तथा आफ्ना साथीलाई समेत जोगाउने प्रतिबद्धता जनाएका हुन्।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको आयोजनामा बुधबार हल्दीबारी–२ स्थित नेपाल रेडक्रस भवनमा आयोजित लागूऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा विद्यार्थीले यस्तो संकल्प गरेका हुन्। ‘आजको सचेत युवा, भोलिको सुरक्षित समाज’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा विद्यार्थी तथा युवापुस्तालाई लागूऔषधको जोखिमबारे सचेत गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा चेतना नेपालका प्रशिक्षक इन्द्र ओलीले लागूऔषधका असर, प्रयोगका सम्भावित लक्षण, यसबाट उत्पन्न हुने चुनौती तथा दुव्र्यसनबाट जोगिने उपायबारे प्रशिक्षण दिएका थिए।
उनले लागूऔषधले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुर्याउनुका साथै अध्ययन, पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा र भविष्यमा समेत नकारात्मक प्रभाव पार्न सक्ने बताए। विशेषगरी किशोर तथा युवावस्थामा देखिने जिज्ञासा, साथीको दबाब, गलत संगत तथा प्रलोभनका कारण लागूऔषधको जोखिम बढ्न सक्ने भएकाले समयमै सचेत र सजग रहनुपर्नेमा उनले जोड दिए।
प्रशिक्षणकै क्रममा ओलीले कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूलाई साक्षी राखेर विद्यार्थीलाई लागूऔषधबाट सधैँ टाढा रहने संकल्प गराएका थिए। विद्यार्थीले लागूऔषध प्रयोग नगर्ने, कसैले प्रयोगका लागि दबाब वा प्रलोभन दिए त्यसबाट आफूलाई जोगाउने र आफ्ना साथीहरूलाई समेत लागूऔषधको जोखिमबाट बचाउन सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा हल्दिबारी माध्यमिक विद्यालय कक्षा ११ का विद्यार्थी युवराज गिरीले विद्यार्थी तथा युवालाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम निकै प्रभावकारी र ज्ञानवर्द्धक रहेको बताए।
‘लागूऔषधको जोखिमबारे जानकारी हुनु मात्र होइन, त्यसबाट जोगिन सक्ने व्यवहारिक उपायबारे बुझ्नु पनि महत्वपूर्ण रहेछ,’ उनले भने। युवापुस्तालाई लागूऔषधको जोखिमबाट जोगाउन विद्यालय र समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले सबै विद्यार्थी तथा युवालाई लागूऔषधबाट टाढा रहन आग्रह गरे।
कार्यक्रमकी प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन्। कार्यक्रममा हल्दिबारी–२ का वडाध्यक्ष सुकलाल राजवंशी, हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ‘महेन्द्र’, शिक्षाविद् नरेन्द्र कार्की, हल्दिबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिन, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीका राउत, नेपाल रेडक्रस सोसाइटीका कर्णखर प्रसाईं, शिक्षक, विद्यार्थी, सामाजिक व्यक्तित्व तथा रोटरी अभियन्तालगायतको उपस्थिति थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ‘महेन्द्र’, शिक्षाविद् नरेन्द्र कार्की, प्रधानाध्यापक टंकबहादुर पाख्रिन तथा प्रमुख अतिथि लिङ्देनले मन्तव्य राखेका थिए। वक्ताहरूले लागूऔषध नियन्त्रणलाई केवल प्रहरी वा कुनै एक निकायको जिम्मेवारीका रूपमा लिन नहुने बताए। विद्यार्थी तथा युवालाई दुव्र्यसनबाट जोगाउन घरबाटै सकारात्मक वातावरण निर्माण, विद्यालयमा निरन्तर परामर्श तथा सचेतना र समुदायस्तरमा सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो। उनीहरूले विद्यार्थीलाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली अपनाउन आग्रह गरे।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष होमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव कोमल धानुकाले गरेका थिए भने स्वागत मन्तव्य सुजित बनसलले राखेका थिए।
कार्यक्रम रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको आयोजना तथा पाराखोपी साना किसान चिया सहकारी संस्था लिमिटेड, पाथीभरा टी इण्डष्ट्रिज प्रालि, कामाक्ष्य देवी टी इण्डष्ट्रिज प्रालि, तुलसीबारी टी इण्डष्ट्रिज प्रालि, हल्दिबारी माध्यमिक विद्यालय, नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखा, मेडिहोम हस्पिटल प्रालि र आकाशगंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सह–आयोजनामा भएको हो। चेतना नेपालले कार्यक्रमलाई प्राविधिक सहयोग गरेको आयोजकले जनाएको छ।
कार्यक्रमले लागूऔषधको जोखिमबारे विद्यार्थीलाई जानकारी दिनुका साथै ‘गलत बाटोमा नजाने र अरूलाई पनि जान नदिने’ सामूहिक जिम्मेवारीको सन्देश दिएको छ।


















