झापा ।

अन्तर्राष्ट्रिय झापाली समाजको सहयोग र एनसीसी अलुम्नाई एसोसिएसन (NCC Alumni Association) झापाको संयोजनमा चारआलीस्थित अरिदमन गण ब्यारेकमा विपद् व्यवस्थापन तथा सर्पदंश रोकथामसम्बन्धी प्रदर्शन एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ।

चारआलीस्थित अरिदमन गणका प्रमुख सेनानी सरोज थापाको प्रमुख आतिथ्य तथा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाईंको विशिष्ट आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो। उक्त अवसरमा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेल र समाजका प्रतिनिधि कामाक्ष्या चम्लागाईंको समेत उपस्थिति रहेको थियो।

झापाका विभिन्न विद्यालय तथा क्याम्पसका करिब २०० विद्यार्थीको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा एनसीसी अलुम्नाई एसोसिएसन र नेपाली सेनाका प्रतिनिधिहरूले प्रशिक्षण प्रदान गरेका थिए। गणका प्रतिनिधिहरूले विपद् व्यवस्थापन (Disaster Management) र सर्पदंश रोकथाम (Snake Bite Prevention)का विषयमा छुट्टाछुट्टै उपयोगी सामग्री र व्यावहारिक प्रदर्शन प्रस्तुत गरेका थिए। सो क्रममा विपद्को समयमा अपनाउनुपर्ने सावधानी र सर्पले टोकेको खण्डमा गरिने प्राथमिक उपचारका तयारीबारे विद्यार्थीहरूलाई विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै एनसीसी अलुम्नाई एसोसिएसन झापाकी जिल्ला निर्देशक रेजिना बनले यस्ता व्यावहारिक कार्यक्रमले युवा वर्गमा विपद् सामना गर्ने क्षमता अभिवृद्धि गर्ने बताइन्। त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख सेनानी सरोज थापाले वर्तमान समयमा सर्पदंश र प्राकृतिक विपद्को जोखिम बढ्दो क्रममा रहेकाले यस किसिमका सचेतनामूलक कार्यक्रमको अपरिहार्यता रहेको उल्लेख गर्दै आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको समापन सत्रमा एनसीसी अलुम्नाई एसोसिएसन झापाका तर्फबाट कार्यक्रमको सहयोगी संस्था अन्तर्राष्ट्रिय झापाली समाज तथा प्राविधिक एवं स्थान सहयोग पुर्‍याउने  अरिदमन गणलाई सम्मानपत्र प्रदान गरिएको थियो। उक्त सचेतना कार्यक्रमको सम्पूर्ण आर्थिक सहयोग अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाईं तथा उनको परिवारको तर्फबाट  गरिएको थियो।