झापा।
अविरल वर्षा र विभिन्न राजमार्गमा पहिरो खसेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकामा लामो दूरीका सवारीसाधनको आवागमन रोकिएको छ। जोखिम बढेपछि यात्रु बोकेका बसहरू बसपार्कलगायत विभिन्न स्थानमै रोकिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा, साँगा र फर्पिङ हुँदै बाहिरिने सबै लामो दूरीका सवारीसाधन अर्को सूचना नआएसम्म सञ्चालन गर्न रोक लगाइएको हो। आइतबार रातिदेखि लागू गरिएको रात्रिकालीन प्रतिबन्ध सोमबार बिहान पनि कायम राखिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका इन्सपेक्टर किरण घिमिरेका अनुसार चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेपछि नागढुंगा–मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएकाले सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो।त्यसैगरी, बीपी राजमार्गअन्तर्गत रोशी खोलामा पानीको बहाव बढ्नुका साथै मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो गएपछि उक्त मार्ग हुँदै सञ्चालन हुने सवारीसाधनसमेत रोकिएका छन्।
फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौंडा जोड्ने सडक पनि पहिरोका कारण बन्द भएको छ। कान्तिलोकपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा पहिरो खसेपछि यो मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण राजमार्गमा यात्रा जोखिमपूर्ण बनेपछि यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सवारी सञ्चालन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ। सडकको अवस्था र मौसमको जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालनबारे नयाँ निर्णय गरिने बताइएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले पनि आइतबार साँझदेखि पहिरोको उच्च जोखिम रहेको भन्दै अर्को सूचना जारी नभएसम्म मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन रोक्न निर्देशन दिएको थियो।


















