झापा । 

देशमा आत्मदाहका घटनाले भयावह रूप लिन थालेका छन्। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपालीले गरेको आत्मदाह प्रयासबाट सुरु भएको पीडादायी शृङ्खला रोकिन नपाउँदै सर्लाहीमा विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाएका छन्। त्यसको एक दिन नबित्दै आज (शनिबार) बिहान काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि आत्मदाहको प्रयास गरेका छन्।

लगातार तीन दिनभित्र भएका यी तीन घटनाले नागरिकमा बढ्दो निराशा, मानसिक दबाब र सामाजिक–राज्य संयन्त्रप्रतिको विश्वासमाथि गम्भीर प्रश्न खडा गरेको छ। काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार शनिबार बिहान करिब ६ः१५ बजे बुद्धनगरस्थित आफ्नै घरको भान्सामा आश्विन राउतले शरीरमा आगो लगाएका थिए। प्रहरी र स्थानीयको सहयोगमा तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याइएको छ।

प्रहरीका अनुसार राउतको शरीर करिब ५० प्रतिशत जलेको छ। घटनाको कारण अझै खुल्न सकेको छैन। घटनाका बेला उनकी श्रीमती र छोरा घरमा थिएनन्। छिमेकीका अनुसार शुक्रबार राउत र उनका छोराबीच केही विषयमा विवाद भएको थियो। त्यसैको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। शरीरको अधिकांश भाग जलेका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो । उक्त घटनालाई लिएर महानगर प्रहरी, ट्राफिक प्रहरी र सरकारी निकायको भूमिकामाथि प्रश्न उठिरहेका छन् भने सम्बन्धित निकायहरूले आफ्नो संलग्नता अस्वीकार गर्दै अनुसन्धान जारी रहेको बताएका छन्।

गणेशको मृत्युको पीडा सेलाउन नपाउँदै शुक्रबार नै सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा आगो लगाएका थिए। हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका उनको कीर्तिपुर बर्न अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको शरीरको ८५ प्रतिशत भाग जलेको छ र अवस्था अत्यन्तै चिन्ताजनक छ।

लगातार भएका यी घटनाले समाजमा बढ्दो मानसिक तनाव, आर्थिक संकट, पारिवारिक दबाब तथा राज्यका सेवा प्रणालीप्रतिको असन्तुष्टिलाई नयाँ ढंगले बहसमा ल्याएको छ। आत्मदाहजस्ता चरम निर्णयहरू एकपछि अर्को दोहोरिन थालेपछि सम्बन्धित निकायले यसको कारण पहिचान गरी प्रभावकारी रोकथामका उपाय अविलम्ब अघि सार्नुपर्ने आवाज पनि बलियो बन्दै गएको छ।