सुरुङ्गा l
२१३ औँ भानु जयन्तीको सन्दर्भ पारेर कनकाई प्रतिभा प्रतिष्ठान, सुरुङ्गाले सञ्चारकर्मी एवम् साहित्यकार लीला अनमोललाई यस वर्षको ‘मनोजबाबु (लक्ष्मीप्रसाद) ओली साहित्य पुरस्कार तथा सम्मान’ प्रदान गरेको छ।
प्रतिष्ठानका उपाध्यक्ष डा. पुण्यप्रसाद सिग्देलको अध्यक्षता तथा वरिष्ठ कवि एवम् गजलकार केशव आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्रष्टा अनमोललाई उक्त सम्मान प्रदान गरिएको हो। प्रमुख अतिथि आचार्य र प्रतिष्ठानका संस्थापक सचिव एवम् अग्रज साहित्यकार कोमलप्रसाद पोखरेलले संयुक्तरूपमा अनमोललाई नगद १५ हजार रुपैयाँ, सम्मान-पत्र, खादा र मालासहित पुरस्कृत गरेका थिए l
कार्यक्रममा सम्मानित व्यक्तित्व अनमोलको परिचय स्रष्टा सीएम शर्माले गराएका थिए भने सम्मान-पत्रको वाचन योन्देन सुनुवारले गरेका थिए।
मातापिता अनिरुद्र ओली र नन्दा ओलीद्वारा स्थापित यस पुरस्कारको अक्षय कोष सञ्चालनका लागि २०७९ साल चैत २१ गते दाता र प्रतिष्ठानबिच सम्झौता भएको थियो। यस पुरस्कारबाट पहिलोपटक भद्रपुर निवासी सहप्राध्यापक तथा साहित्यकार होम सुवेदी र दोस्रोपटक विश्वनाथ राजवंशी सम्मानित भइसकेका छन् । अनमोल यस पुरस्कारबाट सम्मानित हुने तेस्रो स्रष्टा हुन् l
झापाली साहित्यकारहरूको बाक्लाे उपस्थिति रहेको सो कार्यक्रम सामूहिक राष्ट्रगान, पितृहरूप्रति एक मिनेटको मौन धारण (स्मरण) र ब्यानर वाचन गरेर उद्घाटन गरिएको थियो।
कार्यक्रममा लेखनाथ पुस्तकालय चन्द्रगढीका सभापति नवराज घिमिरे, साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा वर्तमान अध्यक्ष देवीभक्त श्रेष्ठ, ऊर्जाशील साहित्य कला प्रतिष्ठान चारपानेका अध्यक्ष डीपी शर्मा, रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओली, साहित्यकार हरु भगवती ढुङ्गेल, देवीचरण भण्डारीलगायत विभिन्न साहित्यिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको संस्थागत सहभागिता रहेको थियो।
सो अवसरमा प्रमुख अतिथि केशव आचार्य, गङ्गाप्रसाद ओली, देवीभक्त श्रेष्ठ र सम्मानित व्यक्तित्व लीला अनमोलले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो भने उपस्थित विभिन्न स्रष्टाहरूले कविता वाचन गरेका थिए।
अक्षय कोषदाता अनिरुद्र ओलीले स्वागत मन्तव्य राख्दै कोष स्थापना गर्नुको उद्देश्य र परिवेशबारे प्रकाश पारेका थिए। प्रतिष्ठानका सचिव प्रेम प्रभातले सञ्चालन गरेको कार्यक्रमलाई सभाध्यक्ष डा. सिग्देलले धन्यवाद ज्ञापनसहित समापन गरेका थिए l


















