चन्द्रगढी ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११८ औं जन्म जयन्तीका अवसरमा झापाको चन्द्रगढीमा साहित्यकार र विद्यार्थी सम्मानित भएका छन् । झापाको भद्रपुर–९ चन्द्रगढीस्थित देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा साहित्यकार भानुभक्त कुभिन्डेलीलाई यस बर्षको  बीस हजार राशीको स्व. मनोरथ दाहाल स्मृति काब्य पुरस्कार प्रदान गरिएको छ । सोही अवसरमा साहित्यकार लता खरेललाई स्रस्टा सम्मान २०८३ द्वारा सम्मानित गरिएको छ ।  

साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्य सम्पन्न उक्त कार्यक्रममा वीरेन्द्र माबि चन्द्रगढीबाट शैक्षिक सत्र २०८२ को कक्षा १२ मा उत्कृष्ट स्थान ल्याउने जिनिस राया र पुस्पा राजवंशीलाई  जनही नगद पाँच हजार राशीको शैक्षिक उन्नयन पुरस्कार प्रदान गरिएको थियो भने बाल कविता प्रतियोगितामा सुमन रेग्मी प्रथम र श्रद्धा रेग्मी दोस्रो भएका थिए । 

देवकोटा स्मारक संरक्षण समिति अध्यक्ष राजु बरालले कार्यक्रमको औचित्य प्रकाश पारेको कार्यक्रममा साहित्यकार तारा विविधले महाकवि देवकोटाले नेपाली साहित्यमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । सम्मानित स्रस्टाको बारेमा साहित्यकार बिरही अधिकारीले परिचय गराएका थिए ।

कार्यक्रममा साहित्यकार केशव आचार्य, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उप प्रमुख राधा कार्की र भद्रपुर नगर कला, साहित्य, सङ्गीत प्रतिस्ठान अध्यक्ष चिन्तामणि दाहालले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा लक्ष्मी चुडाल, सोमराज पोखरेल, सफलता फुयाल र अभिषेक उप्रेतीले अप्रतियोगी कविता वाचन गरेका थिए । 

देवकोटा स्मारक संरक्षण समिति अध्यक्ष राजु बरालको अध्यक्षता रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष ज्ञानेन्द्र कटुवाल र सन्चालन सचिव युवराज ढकालले गरेका थिए ।