बिर्तामोड ।
पूर्वमै पहिलो पटक झापामा अत्याधुनिक उपकरणसहितको ईको साइन कमर्सीयल लण्ड्री एण्ड सेनीटाईजेशन सर्भिस सञ्चालनमा आउने भएको छ । झापाको अर्जुनधारा–६ स्थित छाताचौकमा ईको साइन हव प्रालिले सेवा सञ्चालनमा ल्याउन लागेको आज (मंगलबार) बिर्तामोडमा पत्रकार सम्मेलनको आयोेजना गरी जानकारी दिइएको हो ।
चार जना युवाहरु मिलेर स्वदेशमा नै केही गरौं भन्ने उद्धेश्यले लण्ड्री सञ्चालनमा ल्याउन लागेको ईको साइन हव प्रालिका सञ्चालक नवीन ढुङगानाले बताएका छन् । पत्रकार सम्मेलमा प्रालिले दिने सेवाका बिषयमा प्रालिका डाइरेक्टर तथा फाउण्डर सोभित प्रसाईले जानकारी दिए । उनका अनुसार प्रालिले आधुनिक उपकरणसहितको सेवा दिन लागेको हो ।
ईको साइन हव प्रालिका एसिस्टेण्ट डाइरेक्टर गोविन्द श्रेष्ठले आगामी असार २५ गते ईकोसाइन कमर्सीयल लण्ड्री एण्ड सेनीटाईजेशन सर्भिसको उद्घाटन गरिने जानकारी दिए । उनका अनुसार करिब दुई करोड लगानीमा प्रालि सञ्चालनमा ल्याइएको हो । ईको साइन हव प्रालिका टेक्निकल कन्सल्टेन्ट उज्जवल उप्रेतीले अन्तर्राष्ट्रिय स्तरको मेसिन र प्रविधीको प्रयोग गरी होटल, हस्पिटल, बैंक, विद्यालय, होस्टल, संघसंस्था तथा घरायसी प्रयोजनका हरेक प्रकारका कपडाहरूको व्यावसायिक धुलाई र सुकाई गरिने बताए ।
ईको साइन हव प्रालिका विजनेश एडभाइजर नविन ढुंगानाले पछिल्लो समय कपडा तथा विभिन्न माध्यमबाट सर्ने संक्रामक रोग र कीटाणुहरूको जोखिमलाई मध्यनजर गर्दै कपडाको गुणस्तर कायमै राखी तिनलाई सुरक्षितस्तरसम्म किटाणुमुक्त गर्न यो अत्याधुनिक लण्ड्री सेवा सञ्चालनमा ल्याएको बताए । बिर्तामोड र आसपासका क्षेत्रका व्यावसायिक तथा घरायसी ग्राहकका लागि नयाँ र भरपर्दो गन्तव्य बन्ने उनको भनाई छ ।
२४ घण्टाभित्र सेवा दिने उद्धेश्यले उच्च गुणस्तरीय सेवा प्रदान गर्ने हिसाबले पूर्वमै सबैभन्दा ठूलो लण्ड्री सञ्चालनमा ल्याउन लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । चार वटा मेसीन मार्फत लण्ड्री सेवालाई अघि बढाउने योजना अनुसार काम अघि बढेको सञ्चालकहरुले जानकारी दिएका छन् ।
हाल झापालाई मात्रै केन्द्रबिन्दु बताइए पनि केही महिनापछि पूर्वका जिल्लाहरुमा सेवा विस्तारलाई अघि बढाउने बताइएको छ । हाल २० जनालाई प्रतयक्ष रुपमा रोजगारी प्रदान गर्ने सञ्चालकहरुले जानकारी दिएका छन् ।


















