झापा । 

भारतबाट लागूऔषध लुकाएर ल्याउँदै गर्दा भद्रपुरबाट दुई जना कारोबारी पक्राउ परेका छन् । आइतवार  दिनको ४ः३० बजेको समयमा भद्रपुर नगरपालिका –५ स्थित मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ९५३६ नम्बरको स्कुटी चालक बिर्तामोड–९ गरामनीका ४४ वर्षीय चन्द्रप्रसाद राजबंशीलाई पक्राउ गरेको थियो।

शंका लागेर चेकजाँच गर्दा उनले मलद्वारभित्र प्लाष्टिक बाहेक १४ ग्राम १४० मिलिग्राम ब्राउन सुगर लुकाएर ल्याएका थिए । स्कुटीसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै भारतबाट लागूऔषध लिएर आउँदै गर्दा भद्रपुरमा इलामका एक युवक पक्राउ परेका छन् । आइतबार साँझ ६ः४० बजे मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री इलाम चुलाचुली–२ का २३ वर्षीय रोहित कुमाललाई पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनले पनि मलद्वारभित्र लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकबाहेक ३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ । उनीहरु दुवैको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।