बिर्तामोड ।
लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘सी’ अन्तर्गत लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडि र लायन्स क्लब अफ बिर्तामोड लेडीको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड नगरपालिका–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा सिरिस, धुपी, कपुर तथा निम लगायत विभिन्न जातका १०० थान बिरुवा रोपिएका थिए।
लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष लायन सरु भुर्तेल खनाल र बिर्तामोड लेडीकी अध्यक्ष लायन दुर्गा पौडेलको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा ए.ओ.जी. लायन सत्यनारायण शर्माको प्रमुख आसतथ्य रहेको थियो ।
स्वागत अध्यक्ष दुर्गा पौडेलले गरेको कार्यक्रमको उद्देश्य तथा औचित्यमाथि अध्यक्ष सरु भुर्तेल खनालले प्रकाशपारेकी थिइन्। प्रमुख अतिथि सत्यनारायण शर्मा तथा विद्यालयका प्रधानाध्यापक जयकुमार झाले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता वातावरण संरक्षणमुखी कार्यक्रमले विद्यार्थीमा प्रकृतिप्रतिको जिम्मेवारी र संरक्षणको भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका थिए ।
कार्यक्रममा न्यु क्लब एक्सटेन्सन को–अर्डिनेटर लायन पार्वता गिरी, बिर्तामोड लेडिजकी चार्टर्ड प्रेसिडेन्ट लायन उर्मिला खरेल, रिजन चेयरपर्सन लायन शर्मिला जोशी, जोन चेयरपर्सन लायन यसोदा उप्रेती, लियो क्लबका अध्यक्ष सपना रिजाल तथा दुवै क्लबका करिब ३० जना सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न, अक्सिजनको मात्रा बढाउन, प्रदूषण न्यूनीकरण गर्न, जलवायु परिवर्तनको असर कम गर्न, जैविक विविधताको संरक्षण गर्न तथा भावी पुस्ताका लागि हरियाली वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए । साथै, रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा सबैको सक्रिय सहभागिता आवश्यकमा जोड दिइयो।
लायन्स क्लबहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

















