शनिश्चरे ।

 जिल्ला प्रहरी कार्यालय झापा र अर्जुनधारा नगरपालिकाको संयुक्त आयोजनामा अर्जुनधारमा लागूऔषधविरुद्ध झापा अभियान अन्तरगत जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 

झापा जिल्लामा  भयावह बन्दै गएको लागूऔषधको समस्यालाई समाधान गर्न लागूऔषधविरुद्ध झापा अभियान सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय झापाले आज (शनिवार) अर्जुनधारा नगरपालिकामा जनचेतनामूलक कार्यक्रम गरेको होे ।  अभियान अन्तरगत अर्जुनधारामा लागूऔषध विरुद्ध वृत्तचित्र, नाटकसहित पोस्टर वितरण गरिएको थियो । 

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङकोे अध्यक्षतामा भएको कार्यक्रममा नगरका जनप्रतिनिधिहरुसहित सरोकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधिलाई पोस्टर वितरण गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले हाल जिल्लामा लागूऔषधको अवस्था र चुनौतीपूर्ण रहेको र त्यसलाई नियन्त्रण गर्न अभियान सञ्चालन गरेकोे बताइन् । उनले लागूऔषधको समस्या प्रहरीले मात्र नभई सरोकारवाला संघ÷संस्थासहित सवैको साथ र सहयोगले मात्र नियन्त्रण गर्न सकिने बताउँदै अभियानमा सवैलाई सहकार्य गर्न आग्रह गरेकी छिन् । 

कार्यक्रमका सम्बोधन गर्दै नगर प्रमुख बलदेवसिंह गोेम्देनले नगरका जनता स्वास्थ्य रहेमात्र नगरको समृद्धि हुने जिकिर गरे । उनले प्रहरीको लागूऔषधविरुद्धको अभियानमा नगरको पनि साथ र सहयोग पूर्णरुपमा रहने बताएका छन् । 

अर्जुनधारा–१० का वडाध्यक्ष भूपेन्द्र न्यौपानेले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा नगरकी उप–प्रमुख खड्गमाया पराजुली, वडाध्यक्षहरुसहित नगरका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बिद्यार्थीसहित सरोकारवालाहरुको उल्लेखिय उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गरेका थिए ।