झापा ।
दर्ता प्रक्रियामा पुरा नहुँदै विद्यार्थीहरूलाई विदेश पठाउने र शैक्षिक परामर्श सेवा सुरु गरेका कन्सल्टेन्सीहरूलाई पनि मुद्दा चलाउने निर्णय गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्णयअनुसार प्रहरीले त्यस्ता कन्सलेन्टीमाथि अनुसन्धान अघि बढाएको छ ।
कन्सल्टेन्सी र शैक्षिक परामर्शदाता कम्पनीहरूले विदेश पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले जेठ १ मा काठमाडौँ उपत्यकाका १९५ वटा त्यस्ता कार्यालयमा छापा मारेको थियो । प्रहरीले ६८ जना कन्सल्टेन्सी सञ्चालक तथा म्यानेजरलाई पक्राउ गरेको थियो । तीमध्ये दर्ता प्रक्रियामा रहेका १५ वटा कन्सल्टेन्सीलाई प्रहरीले हाजिर जमानीमा राखेर त्यसबारे शिक्षा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो ।
शिक्षामन्त्री स्तरीय निर्णयबाट दर्ता प्रक्रिया पुरा नहुँदै काम सुरु गरेका कम्पनीहरूलाई कारबाही गर्ने निर्णय भएसँगै १८ जना फेरि पक्राउ परेका छन् । १५ वटा कन्सल्टेन्सीका सञ्चालक र मेनेजरसहित १८ जनालाई बुधवार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
पक्राउ परेकाहरूलाई शिक्षा ऐन सम्बन्धी कसुरमा अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसएसपी खड्काले जानकारी दिए । दर्ता प्रक्रियामा रहेका अरू कन्सल्टेन्सीमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

















