बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकामा बालमैत्री नगर घोषणाका लागि सरोकारवालाहरुसँग अभिमूखिकरण कार्यक्रम गरिएको छ । नगरपालिकाको सभाहलमा आज (बिहीवार) बालबालिका सम्बन्धी सूचकहरुको प्रवद्र्धन तथा कार्यान्वयनका लागि सरोकारवालाहरुसँग अभिमूखिकरण कार्यक्रम हो ।
बिर्तामोड नगरपालिकाको आयोजना तथा लक्ष्य परामर्श तथा अनुसन्धान केन्द्र प्रालिको प्राविधिक सहयोगमा अभिमूखिकरण कार्यक्रम गरिएको थियो । नगरपालिकाका नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक बिजय तिम्सिनाले सहजीकरण गरेका थिए ।
स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले गरेको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक अभिषेक मिश्रले गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष किशोरकुमार पौडेल, बिर्तामोड नगरपालिका–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वालगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै नगर उप–प्रमुख संग्रौलाले बिर्तामोड नगरलाई बालमैत्री नगर घोषणा गर्न सवैको साथ र सहयोगको आवश्यक रहेको बताए । उनले बालमैत्री नगर घोषणा गर्न ५१ वटा सूचकहरु पूरा गर्नु पर्ने बताए । प्रशिक्षक तिम्सिनाले बालमैत्री नगर घोषणाका लागि आवशयक सूचकहरुका बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा नगरपालिकाका सवै शाखाका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


















