देबीप्रसाद गौतम 

शिक्षक, भानु मा बि अर्जुनधारा–५, झापा 

विद्यार्थीहरूले शिक्षकलाई पिटेको, लखेटेको, गाली गरेको समाचारहरू आइरहँदा  शिक्षक स्वयंमले पनि आत्ममूल्याङ्कन गर्नुपर्छ। किन मलाई विद्यार्थीले मन पराउँदैनन्, किन रुचाउँदैनन्, किन सिकाएको कुरा सुन्न चाहँदैनन्, सिकाएको कुरा सुन्न नचाहनुका कारणहरू के के हुन् ? बाल मनोविज्ञान अध्ययन गर्न र विद्यार्थीको भावनासँग रमाउन शिक्षकले सिक्नुपर्छ, गाली गर्नु वा पिट्नु मात्रैले शिक्षक आफूमा रहेको कमजोरी प्रदर्शन भइरहेको हुन्छ। 

बच्चाहरूले हत्तपत्त गल्ती गर्दैनन्, गल्तीलाई स्वीकार गर्ने उनीहरूको बानी हुन्छ। आफ्नो गल्ती तुरुन्तै सुधार गर्न चाहन्छन्। विद्यार्थीले शिक्षकको माया, ममता ,स्नेह, करुणा चाहिरहेको हुन्छ। घरमा डिभोर्स भएका आमाबुबाका सन्तान, सौतेनी बुबाआमाको व्यवहारबाट आजित भएका, आमाबुबा नभएर असाय वा टुहुरा बनेका बच्चा, विद्यालयमा शिक्षकहरूलाई अभिभावकको रूपमा र आफन्तको रुपमा हेर्न चाहन्छन्। 

माया ममताको अभावमा कुण्ठित भएका, पीडामा परेका, मानसिक रूपमा कमजोर र हीनताग्रन्थिले ग्रसित बच्चाहरू आफै तर्सिने ,आत्तिने, शिक्षक शिक्षिकासँग डराउने स्वभावैले देखिन्छन्। गृहकार्य, पढाइ लेखाइ, साथीसँग घुमिल हुने कुरामा पनि उनीहरू समायोजित हुन सक्दैनन्, आफूलाई एक्लो, हेपिएको, पेलिएको, महसुस गरी जीवनबाट विरक्त हुन थाल्छन्। यस्ता बच्चाहरूको भावनामा मलम लगाउने काम हामी शिक्षकहरूको हो। उनीहरूको रुचि, सन्चो बिसन्चो, खाना खाए नखाएको, के गर्न मन लागेको छ ? 

कसले माया गर्छ वा गाली गर्छरु तिमीलाई पढ्न कस्तो लागिरहेको छरु कुन कुरा पढ्न मन लाग्छ वा खान मन लाग्छ कुन खेल खेल्न मन लाग्छरु मलाई पनि सानोमा यस्तै हुन्थ्यो, सबैलाई यस्तै लाग्छ, तिम्रो उमेरमा मलाई पनि तिम्रो जस्तै भएको थियो, जस्ता कुराहरू गरेर उनीहरूका भावना बुझ्ने, सहज रूपमा उनीहरूका कुरालाई लिने, कहिलेकाहीँ पढ्न मन नलाग्नु ठिकै हो जस्ता गफहरू गरेर, कहिलेकाहीँ सँगै खेलेर, उनीहरूलाई बेलाबखत चकलेट वा खाजा खुवाएर, आफूले सक्दो सहयोग गरेर बच्चालाई आफ्नो बनाउन सकिन्छ र आफ्ना कुराहरु उसले मान्न थाल्छ।

३९ वर्षको शिक्षण अनुभवका आधारमा  मेरो अनुभवः

नयाँ नयाँ जोश जाँगर बोकेको शिक्षकले सुरुमा कक्षा कोठामा आफूलाई पहिले आफ्नो  शिक्षकले जस्तो व्यवहार गरेका थिए त्यस्तै व्यवहार देखाउने, आफू शक्तिशाली, विद्यार्थीलाई तर्साएर   लगाउने, काबुमा ल्याउने, महत्वकाङ्क्षाका कारण बच्चाहरूलाई कुटपिट गरेर शिक्षक आफू अरुभन्दा अलग देखाउने स्वभाव हुन्छ।

कान समाएर उठबस गराउने, कक्षा कोठाभित्र पस्न नदिने, कोठा बाहिर पुरै पिरियड उभ्याइ रहने, पुरै पिरियडभरि कान समातेर सुन्न लगाएर अरुलाई सिकाइरहने, बेलाबखत गाली गर्दै उसलाई हेरिरहने, साथीहरूका सामु अत्यधिक आलोचना गर्ने जस्ता कारणहरूबाट विद्यार्थी मानसिक रूपमा रोगी बन्छ।

शिक्षकले जानी नजानी यस्ता गल्तीहरु दोहोर्याउन हुँदैन, सम्झाउने बुझाउने, गल्ती गर्नेहरूलाई, गल्ती गर्नुका कारणहरू सोध्ने, पिट्नुभन्दा बेलाबखत अलि ठूलो स्वरमा सचेत मात्र गराउने, एउटा दुईटालाई गाली गर्नुभन्दा, पुरै कक्षालाई सचेत रहन सामूहिक सचेतनाको कुरा गर्दै पढ्न अल्छी लागेको बेला गीत गाउन, नाच्न कथा सुनाउन, आफ्ना घरपरिवारका राम्रा कुराहरु, घुमफिरका कुराहरू सुनाउन लगाएर पनि बच्चाको निराशालाई कम गर्न सकिन्छ।

सहजीकरण सञ्चारकर्मी रन्जित परियार