• अभिषेक खतिवडा 

झापा ।

 रसुवालगायत देशका विभिन्न क्षेत्रमा भाद्र १० गते आएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूको सम्झनामा चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयले १३औँ पुण्यतिथिको अवसरमा दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

विपत्तिले निम्त्याएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विद्यालय परिसरमा दीप प्रज्ज्वलन गरिएको हो। दीप प्रज्ज्वलनसँगै विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारले दिवङ्गतहरूको सम्झना गर्दै मौनधारणसहित श्रद्धासुमन अर्पण गरेका थिए।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक दुर्गामणि गौतमले विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै प्राकृतिक विपत्तिबाट प्रभावित सबैप्रति सहानुभूति प्रकट गरे ।

प्रधानाध्यापक गौतमले आगामी दिनमा यस्ता दुःखद् विपत्ति दोहोरिन नपरोस् र कुनै पनि परिवारले आफ्ना प्रियजन गुमाउनुपर्ने पीडा भोग्न नपरोस् भन्ने कामना गरेका छन् ।

कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले दिवङ्गतहरूको सम्मानमा मौनधारण गर्दै श्रद्धासुमन अर्पण गरेका थिए। दीपको उज्यालोमार्फत दिवङ्गतहरूको स्मृतिलाई सम्मान गर्दै विद्यालय परिवारले विपत्तिमा प्रभावित परिवारप्रति दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको छ।